काठमाडौं । नेकपा एमालेका केन्द्रीय नेताहरुले जातीय विभेद गर्नेको संरक्षण गर्ने शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले राजीनामा दिनुपर्ने माग गरेका छन् ।
बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा आफैंलाई खारेज गर्न बसेको नेकपा एमाले दशौं राष्ट्रिय महाधिवेशन आयोजक समितिको बैठकमा शिक्षामन्त्रीको राजीनामा मागिएको हो ।
बैठकमा एमाले गण्डकी प्रदेश अध्यक्षसमेत रहेका पूर्वमन्त्री जगत विश्वकर्माले श्रेष्ठको राजिनामा मागेका हुन् । बैठकमा सहभागी अर्का नेता बमबहादुर विश्वकर्माले पनि मन्त्री श्रेष्ठले राजीनामा दिनुपर्ने बताएका थिए ।
एमालेको नेता तथा मन्त्री जस्तो व्यक्तिले जातीय विभेद गर्ने व्यक्तिलाई छुटाएर आफ्नो गाडीमा लैजानु अशोभनीय भएको भन्दै विश्वकर्माले राजीनामा माग गरेका हुन् । यसअघि स्थायी कमिटी सदस्य छविलाल विश्वकर्माले पनि श्रेष्ठले क्षमायाचना गर्नुपर्ने बताएका थिए ।
रूपा सुनारको मुद्दामा श्रेष्ठको व्यवहार देखाउनु भयो त्यो दुःखद् र खेदजनक रहेको भन्दै बैठकमा विश्वकर्माले त्यसले जातीय विभेदविरूद्ध सबै नागरिकलाई आहात पुर्याएको बताए । यस्ता कार्यले नेकपा एमालेप्रतिको आशा र विश्वास पनि धुमिल बनाउन सक्ने उनको भनाइ थियो ।
बैठकमा प्रधानमन्त्री ओलीले भने मन्त्री श्रेष्ठको व्यवहार शोभनीय नभएको भन्दै कमजोरी भएको स्वीकारेको र भविष्यमा यस्तो नगर्ने प्रतिबद्धता जनाएको जानकारी दिएका थिए । शिक्षामन्त्री श्रेष्ठ भने बैठकमा नबोलेको नेताहरुले बताएका छन् ।
थरकै आधारमा रूपा सुनारलाई कोठा नदिएको आरोप लागेकी बबरमहलकी सरस्वती प्रधानलाई छुटाउन प्रहरी चौकीमै पुगेको र गाडीमा लिफ्ट दिएर घरसम्म छाडेकोमा आलोचना भइरहेको छ।