विराटनगर । एक जना मजदुरकोे मृत्यु र अर्का एक गम्भीर घाइते हुने गरि भएको कार दुर्घटनाको आरोपमा पक्राउ परेका विराटनगर–५ बरगाछीका २४ वर्षीय रोविन भनिने रविन सिंह कार्की विरूद्ध मोरङ अदालतमा अभियोग दर्ता भएको छ ।
जिल्ला सरकारी वकिलको कार्यालय मोरङले ‘सवारी ज्यान मुद्दा’ मा मोरङ अदालतमा मंगलबार अभियोग दर्ता गराएको हो । सरकारी वकिलको कार्यालयले सवारी तथा यातायत व्यवस्था ऐन २०४९ दफा १६१ (२) र दफा १६२ (१) को कुसरमा निज प्रतिवादी रविनलाई सोही ऐनको दफा १६१(२) को बमोजिमक तीन वर्षदेखि १० वर्षसम्म कैद र ३० हजार रुपैयाँदेखि १ लाख रुपैयाँसम्म जरिवनाका माग दाबी राखेर अदालतमा अभियोग दर्ता गराएको छ ।
अदालतमा मंगलबार अभियोग दर्ता गराएकोले बुधबार प्रतिवादीको अदालतमा बयान हुने र बयान सकिए सोही दिन थुनछेक बहस हुनेछ । ‘अदालतमा अभियोग दर्ता भएको छ,’ मोरङ अदालतका स्रेस्तेदार राजकुमार दाहालले भने, ‘प्रतिवादीको बयान सकिएपछि थुनछेक बहस हुनेछ ।’ कुन इजालशको न्यायाधीशकोमा थुनछेक बहस हुने त्यो बुधबार गोलाप्रथाद्वारा तोकिनेछ ।
जेठ २० गते राती साढे सात बजे प्रदेश सांसद बिन्दिया कार्कीले प्रयोग गर्दै आएको प्रदेश ३–०१–००२ च २१३९ नम्बरको कारले पैदलयात्रीलाई ठक्कर दिँदा ३५ वर्षीया भारतीय नागरिक मुकेश शर्माको मृत्यु भएको थियो भने मोरङको कटहरी गाउँपालिका–२ का २७ वर्षीया राजकुमार राजवंशी गम्भीर घाइते भएका छन् । रोविन सांसद कार्कीको छोरा हुन् । मृतक र घाइते विराटनगर–४ स्थित न्यु एभरेष्ट स्टिल उद्योगका कामदार हुन् । मदिरा सेवन गरेपछि कार्कीले चलाएको कार दुर्घटना भएको थियो । दुर्घटना भएको तीन दिनपछि २३ जेठमा कार्कीलाई मोरङ प्रहरीले पक्राउ गरेको थियो ।
बागमती प्रदेशबाट झिकियो रविनको लाइसेन्स
रविनले दुई वर्ष अगाडि बागमती प्रदेशको यातायात कार्यालयदेखि सवारी अनुमति पत्र (लाइसेन्स) बनाएको खुलेको छ ।
दुर्घटना गराएको बेला लाइसेन्स नभेटिए पनि अदालतमा अभियोग बुझाउने बेलामा लाइसेन्स रहेको पत्र फेला परेको हो ।
रविनले २०७५ कार्तिक १२ गते सवारी चालक अनुमति पत्र बनाएको अभियोगमा बुझाएको पत्रमा उल्लेख छ । अभियोग पत्रमा हार्डकपी सवारी अनुमित पत्र नभए पनि लाइसेन्स नम्बर उल्लेख गरिएको छ । बागमती यातायात व्यवस्था कार्यालयले दिएको पत्रानुसार रविनको ०१–०६–००५४२५१९ नम्बरको लाइसेन्स रहेको पत्रमा उल्लेख छ । ‘पक्राउ गर्दा रविनको साथदेखि लाइसेन्स भेटिएको थिएन । पछि अनुसन्धान पुरा गर्ने समयमा लाइसेन्स रहेको भनिएको थियो । पछि बागमती प्रदेशबाट बनाएको लाइसेन्स नम्बरसहितको पत्र आएको छ । हार्डकपी सवारी अनुमति पत्र भने आइपुगेको छैन,’ अनुसन्धानमा संलग्न एक अधिकृतले भने ।