विराटनगर । नेकपा माओवादी केन्द्रले प्रदेशसभा बैठक दोश्रो दिन मंगलबार पनि अवरुद्ध पारेको छ ।
भौतिक पूर्वाधार विकास मन्त्रीले संसदमा दिएको अमर्यादित भनाइमा माफी माग्नु पर्ने र नेकपा एमालेले प्रदेश सभामा पेश भइ छलफलमा रहेको बजेट पुनर्लेखनको अभ्यास गरिरहेको र त्यो गैरसंसदीय र असंवैधानिक कार्य हुने भन्दै त्यस विषयमा सरकारले स्पष्ट पार्नु पर्ने माग गर्दै प्रदेशसभा बैठक अवरुद्ध पार्दै आएको छ ।
मंगलबारको बैठकमा पनि माओवादी केन्द्रका सांसदहरुले उठेर विरोध जनाएपछि सभामुखले बैठक स्थगित गरे ।
सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्कीले संसदको गतिरोध अन्त्य गर्ने विषयमा छलफल भइरहेको बताए । मन्त्रको अभिव्यक्तिपछि अवरुद्ध भएको सदन सुचारू गर्न माओवादी केन्द्रसँगै अन्य प्रतिपक्ष दलसँग पनि छलफल गरिरहेको कार्कीले बताए ।
यद्यपी मुख्यमन्त्री शेरधन राई र नेकपा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोबीच सोमबार टेलिफोन सम्बाद हुँदा मुख्यमन्त्री राईले दुवै जनाले माफि मागेर बैठक सुचारु गर्नु पर्ने बताए ।