लोड हुँदैछ...

मेनु

पूर्वमा हराउदै असारे भाका

पूर्वमा हराउदै असारे भाका

पाँचथर । डोको भरी पहेंला पाकेका केरा, ठेकीमा ढपक्क जमेको दही, ढिकीमा कुटेका चिराखे धानका चिउरा, हतभरी चुरा, गुन्यू चोली लगाएका हातमा पहेको धानको बीउ बोकेर असारे गीत गाउदै हिलोमा छ्पकछपक रोपिएका धानका गाँज । आहा !असार १५ साँच्चिकै नेपाली किसानका लागि एउटा छुट्टै पहिचान बोकोको चाड हो ।

असारे गीतको सुमधुर भाकाका साथमा छ्याप्प छ्याप्प धान रोप्दा हिलोमा बाउसे र रोपाहार बिच माया साटासाट आपसी सद्भाव र रमाइलोपनको छुट्टै मज्जा हुन्छ । नेपालमा खासगरी असार महिनामा धान रोप्ने गरिन्छ।

परम्परादेखिनै असार १५ को बेठी लगाइ राजा माहाराजाहरु समेत यो कार्यमा संलग्नता रहने चलन छ । दही चिउरा खाँदै गाउँका ठुलाबढाको बवसाल खेतमा जम्मा भएर बेठी लगाउँदै रोपाईं गर्ने चलनले यसको लोकप्रियता व्यापक छ ।

असार १५ को दिन कृषकहरूलाई कामको भ्याइनभ्याई हुन्छ। तैपनि रोपाईंमा दिनभर थाकेका बाउसे र रोपाहारहरू एक अर्कामा हिलो छ्यापाछ्याप गरी असारे गीत गाउँदै दुःख कष्ट र थकाई बिर्सन खोज्छन् ।

रोप न रोप रोपारै रानी म पँज्याईदिउँला बीऊ
हलीलाई दिउँला एकराते दही बाउसेलाई दिउँला घीउ
असार मास छिपछिपे हिलो खै लाग्यो फालीमा
बुवालाई भनि भुरुल्ली काटेँ ओइलायो आलिमा

तर अहिले असारे गीतको गाउँदै बेठी लगाइ खेती गर्ने चलन बिस्तारै लोप हुँदै गएको छ । थकाइ, परिश्रम बिर्साउँदै बढी आनन्द प्रदान गर्दै गाइने असरे गीत पछिल्लो पुस्ताले ग्रहण नगर्नाले यो परम्परा लोप हुन्छ कि भन्ने चिन्ता लागेको बताउछिन् पाँचथरकि ८१ वर्षिय बृद्धा धनमाया बराल । उनी उनको समयमा डोकोमा कोला, चिउरा , काक्रा , आँप लगायत बोकेर बेसीको खेतमा बेठी लगाएको किस्सा सुनाउदै भन्छिन्  ‘छिपीमा छिपी धानैमा रोप्नु बेंसीको फाँटमा, आउ न बाउसे छ्याप न हिलो कान्छीको साथैमा ।’ यस्ता असारे गीतको सुरमा रोपाइ गरेको कुरा सुनाउदै असार १५ को लोकप्रियता संरक्षण गर्न आग्रह गर्छिन् ।

अर्की बृद्धा रनमती सारु भन्छिन् असार १५ को दिन धान खेतका गह्रा, खोलानाला र खहरेहरूबाट झरेको पानीको छङछङ आवाजसँगै असारे भाका तिनको तारिफ गरेर गाइने गरिन्थ्यो साथमा महिला हरुको माया साटासाट गर्ने । वर्ष भरीको दुखेसो पनि पोखिने गरिन्थ्यो अहिले त कहिले असार १५ आयो कहिले गयो पत्ता समेत हुदैन । उनी भन्छिन ‘अहिले त नाता नातीनाले गीत गाउन परै जाहोस धान रोप्न समेत जान्दौन्न पुराना आफ्ना परम्परा र सस्कारलार्इ जगेर्ना गर्ने सबैले सिक्न जरुरी छ ।’

असारे भाकाले भौगोलिक विविधता पनि समेटेको छ। यो विभिन्न भेग अनुसार फरक–फरक तरिकाले बुझ्ने गरिन्छ । असारेलाई पूर्वी भेगमा ‘रसिया’ भनिन्छ भनि पश्चिमाञ्चलतिर ‘काँठेभाका’ भनिन्छ। लेग्रो तानेर गीतको पहिलो फाँकी झिकेपछि बीचमा अनुप्रासका टुक्काहरू मिलाई अनिमात्र अन्तिम फाँकी वा टुप्पो गीत भन्ने चलन परम्परादेखि नै चलेको पाइन्छ । यस भाकाका फाँकीहरू १६÷१६ अक्षरका हुन्छन् र हरेक पाउका दस अक्षरमा विश्रान्ति लिई लामो स्वरमा लेग्रो तानेर यो भाका गाइन्छ।

असारे भाकाले किसानको थकित शरिरलाई आनन्ददायी र रोचक बनाइ स्फुर्त रुपमा कामप्रती मोह जगाउने किसान रामहरी सुवेदी बताउँछ्न् । उनी भन्छ्न ‘उहिले हाम्रो पालामा त असारे गीत नजान्ने कोहि थिएनौंं। बाउसे रोपार दुबैले छुट्टाछुट्टै आनन्दका साथमा गीत गाउँदै धान रोप्ने चलन थियो ।’

पछिल्लो समय असारे गीत गाउदै बेठी लगाउने चलन हराउदै गएकोमा अघिल्लो पुस्तामा निराशा देखिएको छ। परम्परागत सकारात्मक कुराको अनुशरण गर्ने अहिलेका युवा पुस्तालाई पुराना पुस्ता आग्रह गर्छ्न् ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।