जातीय विभेदको संरक्षण गर्ने मन्त्रीलाई हटाउन माग

विराटनगर । जातीय विभेदको पक्षपोषण गर्ने मन्त्रीलाई पदबाट हटाउन माग गर्दै प्रदेश १ का दलितहरुले प्रधानमन्त्री केपी ओलीलाई ज्ञापनपत्र पठाएका छन् ।

जातकै कारण कोठा भाडामा नदिएको अरोपमा पक्राउ परेकी काठमाडौं बबरमहलकी घरधनी सरस्वती श्रेष्ठलाई कानूनी कार्वाहीबाट जोगाउन आफै प्रहरी कार्यालयमा आएर छुटाएर लाने शिक्ष मन्त्री कृष्णगोपाल श्रेष्ठलाई पदमुक्त गर्न दलित अगुवाहरुले प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएका हुन् ।

आइतबार जिल्ला प्रशासन मोरङमार्फत राष्ट्रियसभाका पूर्वसांसद खेम नेपालीको नेतृत्वमा दलितहरुले मन्त्री श्रेष्ठलाई हटाउन माग गर्दै प्रधानमन्त्री ओलीलाई ज्ञापनपत्र पठाएका हुन् । जातीय विभेदलाई संरक्षण गर्ने मन्त्रीलाई पदबाट नहटाएमा कडा संघर्ष गर्ने उनीहरुले चेतावनी दिएका छन् ।

संघर्ष समितिका सचिव उमेश विश्वकर्माका अनुसार जातीय विभेदको संरक्षण गर्ने मन्त्रीलाई पदबाट तत्काल बर्खास्त गर्न माग गरिएको छ । सञ्चारकर्मी रुपा सुनारलाई जातकै कारणले कोठा भाडा नदिने घरबेटी पक्राउ परेपछि पदको दुरुपयोग गरि प्रहरी हिरासतबाट छुटाएर जातीय विभेदलाई संरक्षण गरेको भन्दै दलित अगुवाहरुले आपत्ती जनाउँदै आएका छन् ।

दलितहरुले डिबी शाह संकरको नेतृत्वमा संयुक्त संघर्ष समिति निर्माण गरेर संघर्षसमेत थालेका छन् । समितिमा प्रदेशभरिका २ सय जना दलित अगुवाहरु सदस्य छन् । सरकारवादी रहेको जातीय भेदभाव तथा छुवाछूत कसुर मुद्दाका आरोपीलाई जमानतमा छोडाउन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठकै प्रत्यक्ष संलग्नता रहेको प्रदेश १ का दलितहरुको ठहर छ ।

सुनारले जातकै कारण कोठा भाडामा नदिएको भन्दै प्रहरीमा उजुरी दिएपछि प्रहरीले घरधनी सरस्वती श्रेष्ठलाई पक्राउ गरेको थियो । तर, असार ९ गते मन्त्री श्रेष्ठले आफंै प्रहरी कार्यालय पुगेर उनलाई छुटाएर आफ्नै गाडीमा घरसम्म लगेका थिए ।

आइतबार, १३ असार, २०७८, दिउँसोको ०३:१० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर