इटहरी । सुनसरीको कोसी गाउँपालिका स्थित भाण्टाबारीमा भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ ।
आइतबार बिहान साढे ७ बजे पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा ३ ख ७२४४ नम्बरको हायसले विपरित दिसाबाट आउँदै गरेको स ६ प ४६६१ नम्बरको मोटरसाइकल र पश्चिमबाट आउँदै गरेको को १ च ९३६८ नम्बरको पिकअपलाई ठक्कर दिँदा दुर्घटना भएको थियो ।
दुर्घटनामा पिकअप चालक र मोटरसाइकलमा सवार दुई जनाको घटनास्थलमै मृत्यु भएको सुनसरी प्रहरीले जनाएको छ । दुर्घटनामा दुई जना घाइते भएका छन् ।
तीब्र गतिमा रहेको हायसको ठक्करबाट मोटसाइकल चालक सप्तरी डाक्नेश्वरी नगरपालिका–५ का २८ वर्षीय उदय साह, मोटसाइकलमा सवार विराटनगरका ४० वर्षीय रामप्रसाद साह र पिकअप चालक विराटनगर– ७ का करिब ३८ वर्षीय अक्षयकुमार गुप्ताको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका तीनै जनाको जिल्ला अस्पताल इनरुवामा उपचारका क्रममा मृत्यु भएको डिएसपी तिम्सिनाले जानकारी दिए ।
हायस चालक नुवाकोटको विदुर नगरपालिका– १३ का ३५ वर्षीय विवश तामाङ र सहचालक सोही नगरपालिका– ११ का २५ वर्षीय नारायण बस्याल घाइते छन् । उनीहरुको उपचार भइहरेको छ ।

