विराटनगर । मोरङको सुनवर्षी र खोटाङको रुपाकोट मझुवागढीमा भएको छुट्टाछुट्टै घटनामा दुई युवाले बाबुको हत्या गरेका छन् ।
सुनवर्षी नगरपालिका–४ का ४० वर्षीय दयालु ताजपुरियाले ढुङ्गाले हानेर आफ्नै बाबु ६८ वर्षीय टिनताल ताजपुरियाको हत्या गरेको मोरङ प्रहरीले जनाएको छ ।
मोरङका निमित्त प्रहरी प्रमुख डिएसपी मञ्जील मुकारुङका अनुसार मापसे गरेको विषयलाई लिएर भएको सामान्य घरसायी विवादमा दयालुले शनिबार बिहान सुतिरहेकै ओछ्यानमा पुगेर वृद्ध बुवालाई ढुङ्गाले हानेका थिए । छोराले टाउकामा ढुङ्गा प्रहार गरेपछि गम्भीर घाइते भएका टिनताललाई उपचारका लागि विराटनगरको कोसी अस्पताल ल्याइएको थियो ।
कोसीले उपचार सम्भव नहुने भन्दै सुविधासम्पन्न अस्पतालमा रेफर गरेकोमा आर्थिक अवस्था कमजोर भएको परिवारले घरमै लगेको थियो । उनको आइतबार बिहान ५ः३० बजेतिर घरमै मृत्यु भएको प्रहरीले जनाएको छ । खर्च अभावका कारण थप उपचार पाउननसक्दा उनको मृत्यु भएको प्रहरीको भनाइ छ ।
छोराले मापसे गरेर राति होहल्ला गर्न थालेपछि टिनतालले सम्झाईबुझाई गर्दै त्यसो नगर्न भनेका थिए । विवादपछि दयालुले सुतेको ओछ्यानबाट उठ्न नपाउँदै बाबुलाई ढुङ्गाले प्रहार गरेको प्रहरीको भनाइ छ ।
बाबुको हत्यामा संलग्न दयालुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीविरुद्ध कर्तव्य ज्यान मुद्दा चलाउन अदालतबाट म्याद थप गरिने प्रहरीले जनाएको छ ।
उता खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका २ सोल्माका २८ बर्षीय सुबर्ण राईले आफ्नै बुबाको हत्या गरेका छन् । आइतबार बिहान पौने ५ बजे उनले आफ्नै बुबा ७२ बर्षीय चन्द्रबहादुर राईलाई गर्धनमा खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय खोटाङबाट खटिएको प्रहरी टोलीले सुबर्णलाई सोही वडाको अल्छेढुंगाबाट पक्राउ गरेको छ । घटना सम्बन्धना थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।