विराटनगर । विराटनगरको सुधार गृहदेखि शनिबार बिहान फरार भएका चारै जना बालकलाई प्रहरीले पक्राउ गरेको छ ।

तीन तलामाथिबाट हाम फालेर फरार भएका तीन जनालाई आइतबार बिहान विराटनगरको नोबेल हस्पिटल अगाडिको नहरदेखि पक्राउ गरेको हो ।

एक जनालाई प्रहरीले शनिबार बिहान विराटनगरको दूध फारमदेखि पक्राउ गरेको थियो । १ नम्बर प्रदेश प्रहरी कार्यलय विराटनगरको रिटको टोलीले उनीहरू लाई पक्राउ गरेको हो ।

फरार हुने तीन जना जवरजस्ती करणी मुद्दाका कैद सजाय र एक जना हातहतियार तथा खरखजना मुद्दामा पुर्पक्षका लागि रहेका बाल बिज्याँइकर्ता हुन् । उनीहरुमध्ये जवरजस्ती करणी मुद्दाका सोलुखुम्बु घर भएका बाल बिज्याँइकर्ता शनिबार पक्राउ परेका थिए ।

आइतबार संखुवासभा, उदयपुर र झापा घर भएका तीन जनालाई पक्राउ गरेर मोरङ प्रहरी कार्यालयमा राखिएको छ । बाल गृहदेखि फरार भएका चारै जनालाई पक्राउ गर्न सफल भएको मोरङ प्रहरीका निमिक्त प्रमुख डिएसपी मन्जिल मुकारुङले जानकारी दिए । फरार भएका दुई जना बालक घाईते रहेको प्रहरीले जनाएको छ ।

सुरक्षा स्रोतका अनुसार शनिबार बिहान राति २ः५५ बजेतिर एकैपटक चार जना सुधार गृहको तीन तलामाथिबाट हामफालेर भागेको बताएको छ । कमजोर भौतिक संरचनाको फाइदा उठाउँदै बालसुधार गृहमा राखिएका बालविज्याइँकर्तामध्ये एक वर्ष अगाडि पनि दुई जना फरार भएका थिए । त्यसबेला फरार भएको ५ दिनपछि झापाबाट उनीहरु पक्राउ परेका थिए ।