विराटनगर । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका आन्दोलनरत चिकित्सक, विद्यार्थी तथा कर्मचारीहरुले प्रतिष्ठानका सबै पदाधिकारीको गाडीको चाबी खोसेका छन् ।
प्रतिष्ठानभित्रका अनियमितता तथा पदाधिकारीहरुको मनपरीविरुद्ध संयुक्त संघर्ष समिति बनाएर आन्दोलन चलेको १३ औं दिनमा पदाधिकारीको गाडीको चाबी खोसिएको हो ।
लामो समयसम्मको आन्दोलनलाई उपकुलपति डा.ज्ञानेन्द्र गिरीसहितका पदाधिकारीले पूर्णतः वेवास्ता गरेको भन्दै आन्दोलनकारीले उनीहरुको गाडीको चाबी खोसेका हुन् । अस्पताल निर्देशक प्रा.डा.गौरीशंकर शाह, रजिष्ट्रार प्रा.डा.मोहनचन्द्र रेग्मी, शिक्षाध्यक्ष प्रा.डा. गुरु खनालको गाडीको चाबी खोसिएको आन्दोलनकारी विद्यार्थी डा.अमृत जैसीले जानकारी दिए ।
उपकुलपति गिरी चाहिँ धरानमा आन्दोलन सुरु भएदेखि काठमाडौं गएर बसेका छन् । आइतबार आन्दोलनकारीले प्रतिष्ठान परिसरमा शक्ति प्रर्दशन गर्दै पदाधिकारीहरुको जवाफदेहिताहीन कार्यशैलीको आलोचना पनि गरेका थिए । प्रदर्शनमा प्रतिष्ठानका विभागीय प्रमुखहरु पनि सहभागी भएका थिए ।
आन्दोलनकारीहरुले सोमबारदेखि रिले अनशन थाल्ने घोषणा पनि गरेका छन् । प्रतिष्ठानभित्रको बेथितिबारे लेख्दै बोल्दै आएका फ्याकल्टी वेलफेयर सोसाइटीका अध्यक्ष डा.विष्णु पोखरेललाई उपकुलपतिले स्पष्टीकरण सोधेपछि त्यसको विरोधमा आन्दोलन सुरु भएको थियो । आन्दोलन अहिले प्रतिष्ठानको समग्र सु्धारको मुद्दामा सोझिएको छ ।