विराटनगर । निर्वाचित भएको पार्टी परित्याग गरी अन्य पार्टीमा गएका नेकपा माओवादी केन्द्रका दुई मेयर, पाँच जना उपमेयरसहित १४ जना जनप्रतिनिधिको पद निर्वाचन आयोगले रिक्त गरिदिएको छ ।
केही दिन अघि नेकपा माओवादी केन्द्रले दल त्याग गरेको भन्दै १४ जना जनप्रतिनिधिलाई कारवाही गरी पद रिक्त गर्न आयोगमा पत्राचार गरेको थियो । माओवादीको औपचारिक जानकारी प्राप्त भएको भन्दै निर्वाचन आयोगले आज सार्जजनिक सूचना प्रकाशित गरेर १४ जनाकै पद रिक्त भएको जनाएको छ ।
पद रिक्त भएकामा रौतहट मौलापुर नगरपालिकाकी मेयर रीनाकुमारी साह र रौतहटकै कटहरिया नगरपालिकाका मेयर सियारामप्रसाद कुशवाहा छन् । रीनाकुमारी एमाले नेता प्रभु साहकी श्रीमती हुन्। प्रभु साह पनि माओवादी छाडेर एमालेमा गएकोले माओवादीले सांसद पद हटाइदिएको थियो।
यस्तै रौतहटकै देवाही गोनाही नगरपालिकाकी उपप्रमुख परनिया देवी, मौलापुर नगरपालिकाका उपप्रमुख गौरीशंकर प्रसाद, फतुवाविजयपुर नगरपालिकाकी उपप्रमुख कान्ति देवी, माधवनारायण नगरपालिकाकी उपप्रमुख सिमलकुमारी साह र कैलाली भजनी नपाकी उपप्रमुख छायाँदेवी देवकोटाको पद रिक्त भएको छ।
यस्तै महोत्तरी साम्सी गाउँपालिका प्रमुख शेष फारूक, रौतहट यमुनामाई गाउँपालिका उपाध्यक्ष गीतादेवी साहको पद पनि रिक्त भएको आयोगले जानकारी दिएको छ।
निर्वाचन आयोगको असार ९ गते बसेको बसेको बैठकले उनीहरुको पदरिक्त गर्ने निर्णय गरेको थियो । आयोगका उक्त निर्णय अनुसार रौतहटको मौलापुर नगरपालिकामा प्रमुख र उपप्रमुख दुवै पद रिक्त हुनपुगेको छ ।