पथरीका वडाअध्यक्षले मापसे गरेर बैठकमा गरे हंगामा, कार्यपालिका बैठक स्थगित

पथरी । मादक पदार्थ सेवन (मापसे) गरेर अभद्र व्यवहार गरेपछि पथरी शनिश्चरे नगरपालिकाको आज बसेको कार्यपालिका बैठक स्थगित भएको छ ।

१० गते हुने नगरसभाको पूर्व तयारीका लागि बसेको बैठकमा मापसे गरि सहभागी भएका वडा नं. १ का वडाध्यक्ष बाबुराम एङदेनले वडा नम्बर १० का अध्यक्ष सागर राईलाई अपशब्द प्रयोग गरेका थिए । त्यसपछि बैठकको माहोल तितर–वितर भएको थियो ।

बैठकमा कार्यपालिका सदस्यहरुले वडा नं. १ का वडाध्यक्ष एङदेनको व्यवहारप्रति आपत्ती जनाउँदै माफी मगाएका थिए । नगरको बजेट बाँडफाँडका विषयमा कार्यपालिका बैठक बसेको थियो ।

कार्यपालिका सदस्यले नै पटक–पटक यस्तो व्यवहार गरेको भन्दै वडाध्यक्ष एङदेनको मापसे चेक गरी कार्वाही गर्नुपर्ने अन्य सदस्यले माग राखेका थिए । एमालेबाट निर्वाचित वडाध्यक्ष एङदेनले, ‘म डन हुँ मैले खाएँ, के भयो ?’ भन्दै बैठकमा अवरोध गरेका थिए ।

२ घण्टा लामो विवादपछि वडाध्यक्ष एङ्देनले आइन्दा यस्तो नगर्ने भन्दै माफी मागेका थिए । त्यसपछि अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित भएको जनाइएको छ ।

सोमबार, ०७ असार, २०७८, साँझको ०७:५७ बजे

प्रतिक्रिया

प्रतिक्रिया:

सम्बन्धित खवर