केन्द्रीय कमिटीमा ९९ सदस्य थपिदै

पार्टीलाई जुझारु र समावेशी बनाउँदै माओवादी केन्द्र

विराटनगर । पार्टीमा २० प्रतिशत युवा, ३५प्रतिशत महिला र १५ प्रतिशत दलित प्रतिनिधित्व हुने गरी नेकपा माओवादी केन्द्रले केन्द्रीय कमिटि बिस्तारको तयारी थालेको छ । केही समय अघि बसेको माओवादी केन्द्रको बैठकले पार्टीमा युवाहरुलाई प्राथमिकता दिएर नेतृत्व तहलाई समावेशी बनाउने निर्णय गरको थियो । सोही निर्णय कार्यान्वयन गर्न माओवादी केन्द्रले विधान संशोधनको तयारी गरेको छ ।

माओवादी केन्द्रले वर्तमान केन्द्रीय कमिटीमा ९९ सदस्य थप गर्दै २९९ जनाको केन्द्रीय कमिटी बनाउने अन्तिम तयारी गरिरहेको जनाएको छ । एमालेसँगको पार्टी एकता सर्वोच्चले भङ्ग गरिदिएपछि माओवादी हाल नयाँ सङ्गठन निर्माणको तयारीमा छ । पार्टीको प्रस्तावित नयाँ विधानमा केन्द्रीय समिति २९९ सदस्यीय बनाउने उल्लेख छ । सो विधान केन्द्रीय समितिको बैठकबाट पारित भएपछि लागू हुने छ ।

संगठनबारे सुझाव सङ्कलन गर्न गठित ६ सदस्यीय कार्यदलका एक सदस्य मातृका यादवले २ सय सदस्यीय केन्द्रीय समितिमा ९९ सदस्य थप्न सुझाव दिइएको बताए । ‘नयाँ सदस्य थप्ने क्रममा ४० वर्षमुनिका युवालाई प्राथमिकता दिइने छ,’ उनले भने ।

कार्यदलका अर्का सदस्य जनार्दन शर्मा ‘प्रभाकर’ले पनि २० प्रतिशत युवालाई केन्द्रीय समितिमा स्थान दिन सुझाव दिइएको बताएका छन्। कार्यदलमा वर्षमान पुन, जनार्दन शर्मा, देवेन्द्र पौडेल, मातृका यादव, गिरिराजमणि पोखरेल र पम्फा भुसाल छन् ।

केन्द्रीय समितिमा क–कसलाई थप्ने भनेर हाल माओवादीले पार्टीको तल्लो तहबाट सुझाव संकलन गरिरहेको र प्रदेशबाट सुझाव आएपछि कमिटी विस्तार गर्ने तयारी रहेको बताइएको छ ।

एमाले प्रवेश गरेका माओवादी केन्द्रका पूर्व नेताहरु ।
यसअघि गत चैतमा बसेको माओवादी केन्द्रको केन्द्रीय समितिको बैठकमा अध्यक्ष प्रचण्डले केन्द्रीय समिति २ सय सदस्यीय नै हुने बताएका थिए । कार्यदल सदस्य यादवले भने छुटेकाहरुलाई पनि स्थान दिन र पार्टीलाई जुझारु बनाउन आवश्यक भएकाले २ सय ९९ सदस्यीय बनाउन त्यसै अनुसार सुझावहरु समेटिएको बताए । केन्द्रीय समिति टुंगो लागेपछि पोलिटव्यूरो र स्थायी कमिटी टुंगो लाग्ने छ ।

सोमबार, ०७ असार, २०७८, बिहानको १०:०३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर