काठमाडौं । देशमा बाढी र पहिरोले वितण्डा मच्चाइरहँदा सरकार उदासिन भएको भन्दै विपक्षी गठबन्धनका पाँच दलले सरकारको आलोचना गरेका छन् ।
कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एमाले नेता माधव कुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव र जनमोर्चा उपाध्यक्ष दुर्गा पौडेलले आज संयुक्त विज्ञप्ति जारी गर्दै सरकारको आलोचना गरेका हुन् ।
५ दलका ५ नेताले प्राकृतिक विपत्तिको सामना गर्ने कुनै पूर्वतयारी नगरी सरकारले गैरजिम्मेवार पन देखाएको संयुक्त वक्तव्यमा उल्लेख छ ।
वक्तव्यमा बाढी र पहिरोमा परि ज्यान गुमाउनेहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरिएको छ । यस्तै बाढी, पहिरो र डुबानबाट जनताको सुरक्षा गर्न, पीडित जनता र विस्थापितहरुका लागि तत्काल आवास, खाद्यान्न, मृतकका परिवारलाई सहयोग, घाइतेहरुको उपचार लगायतका उद्धार र राहतका काम प्रभावकारी रुपमा अगाडि बढाउन उनीहरुले सरकारसँग माग गरेका छन् ।
यस्तै गम्भीर प्राकृतिक विपत्तिको समयमा उद्धार र राहतका क्रियाकलापमा आ–आफ्ना स्थानबाट योगदान गरी पीडितलाई सहयोग पु¥याउन सम्पूर्ण पार्टी कार्यकर्ता तथा संघसंस्थाहरुलाई आह्वान समेत गरिएको छ ।