धरान । सुनसरीको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीले खरिद सम्बन्धीका केही थप कागजपत्र माग गरेको छ ।

आयोगको इटहरीका प्रमुख नारायणप्रसाद रिसालका अनुसार प्रतिष्ठानको उजुरीबारे अनुसन्धान गर्न खरिद सम्बन्धीका आवश्यक सबै कागजपत्र मागिएको हो ।

अख्तियारले बीपीमा भएको अनियमितताको बारेमा धेरै उजुरी आएपछि अनुसन्धान गर्ने टोली खटाएको जनाएको छ । अनुसन्धान गर्ने टोलीको बारेमा भने आयोगले कुनै विवरण बाहिर ल्याउने गरेको छैन ।

स्रोतका अनुसार खरिद सम्बन्धीका जफत भएका सबै कागजपत्र सबै हेरेर प्रतिष्ठानका उपकुलपति डा.ज्ञानेन्द्र गिरीलाई प्रतिक्रियाको लाथि अर्को पत्र काट्ने तयारी छ । आइतबार आयोगको इटहरीस्थित कार्यालयबाट निमित्त कार्यवाहक प्रमुख पुरुषोत्तम ढकालको नेतृत्वको टोलीले प्रतिष्ठानका विभिन्न विभागमा छापा मारेर पदाधिकारीहरूसँग सोधपुछ गरि केहि कागजात नियन्त्रणमा लिएको थियो ।

प्रतिष्ठानमा भएको भ्रष्टाचारको बारेमा प्रतिष्ठानकै डाक्टर, प्राध्यापक र विद्यार्थीले पनि आवाज उठाउँदै आएका छन् । प्रतिष्ठानको अनियमितताबारे अख्तियारको ध्यानाकर्षण गराउँदा फ्याकल्टी वेल्फेयर सोसाइटीका अध्यक्ष डा.विष्णु पोख्रेललाई उपकुलपतिले स्पष्टीकरण सोधेपछि त्यसको विरोधमा प्रदर्शन भइरहेको छ ।

उपकुलपति कार्यालयअघि भेला भएका चिकित्सक तथा विद्यार्थीहरूले बुधबार पनि प्रतिष्ठानको मेन गेट, बुद्धचोक, शिवमार्ग हुँदै डेन्टल कलेजसम्म जुलुस निकालेका थिए । मौसम अनुकूल भएमा बिहीबार भानुचोकसम्म र्‍याली निकाल्ने संयुक्त सङ्घर्ष समितिले जनाएको छ ।

आन्दोलनरत चिकित्सकहरूले डा.पोख्रेललाई सोधेको स्पष्टीकरण फिर्ता लिन र सार्वजनिक माफी माग्न उपकुलपति डा.ज्ञानेन्द्र गिरीलाई दिएको २४ घण्टे अल्टिमेटम सकिसकेको छ । अझै पनि माग पुरा नभए आन्दोलनको घेरा बढ्दै जाने र भविष्यमा कामबाट वञ्चित हुनुपर्ने स्थिति पनि आउन सक्ने उनीहरूले बताएका छन् ।