काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले अझै तीन दिन देशका अधिकांश भागमा भारी वर्षा हुने प्रक्षेपण गरेको छ ।

धेरै वर्षा हुने भएकाले महाशाखाले केही स्थानमा बाढी र पहिराको खतरा रहेको भन्दै सचेत रहन आग्रह गरेको छ ।

महाशाखाका अनुसार मनसुनी वायु सक्रिय भएकाले अहिले देशभर पानी परिरहेको छ । यो वायुको प्रभावले आगामी शनिबारसम्म नै देशका अधिकांश भागमा पर्ने भएकोले भारी वर्षा हुने सम्भावना देखिएको हो ।

‘मनसुनी वायुको प्रभावले अहिले देशका अधिकांश भागमा अहिले वर्षा भइरहेको छ,’की मौसमविद् मञ्जु बासीले भनिन्, ‘यो वायुको प्रभावले आगामी शनिबारसम्मै देशका अधिकांश भेगमा भारी वर्षा हुने योग छ । त्यसपछि भने यो क्रममा ब्रेक लाग्नेछ ।’ महाशाखाका अनुसार गण्डकी, लुम्बिनी प्रदेशका अधिकांश र बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

महाशाखाका अनुसार बुधबार राति कर्णाली, वाग्मती प्रदेशमा भारी र लुम्बिनी तथा गण्डकी प्रदेशका केही स्थानमा अति भारी वर्षा हुने सम्भावना छ । त्यसैले महाशाखाले यी क्षेत्रमा बाढी पहिराको खतरा औँल्याएको छ । महाशाखाको नियमित बुलेटिनअनुसार, वर्षाको यो क्रमले बिहीबार र शुक्रबार पनि देशभरि निरन्तरता पाउनेछ ।

पछिल्लो २४ घण्टामा धेरै पानी पर्ने स्थानको पहिलो नम्बरमा पोखरा छ । महाशाखाका अनुसार, यहाँ ११०.५ मिलिलिटर पानी परेको छ । पोखरापछि भैरहवामा सबैभन्दा धेरै ८२.२ मिलिलिटर पानी पर्‍यो भने काठमाडौँमा पछिल्लो २४ घण्टामा १२.४ मिलिलिटर मात्र पानी परेको छ ।