विराटनगर । सवारी ज्यान मुद्दाका आरोपी रोबिन भनिने रबिन कार्की विरूद्ध प्रहरीले दोश्रोपटक ७ दिनको म्याद थप गरेको छ ।

अनुसन्धान नसकिएको भन्दै प्रहरीले जेठ २८ गते मोरङ अदालतबाट रबिन विरुद्ध दोश्रोपटक म्याद थप गरेको हो । प्रहरीले दोश्रो पटक थप गरेको म्याद असार ४ गते सकिदैछ । आवश्यक अनुसन्धान पुरा नभएकाले रबिन विरुद्ध सवारी ज्यान मुद्दामा तेश्रोपटक म्याद थप गर्ने तयारी रहेको मोरङ प्रहरीले जनाएको छ । सवारीसाधनको मेकानिकल जाँच र कागज गराउने लगायतका थुप्रै अनुसन्धानात्मक कार्यहरु बाँकी रहेकाले तेश्रोपटक पनि म्याद थप गर्नु आवश्यक रहेको मोरङ प्रहरीका प्रहरी उपरीक्षक सन्तोष खडकाले बताउनुभयो । उहाँले हाल विभिन्न कोटबाट घटनाको विस्तृत अनुसन्धान भईरहेको जानकारी दिनुभयो ।

प्रहरीले सवारी ज्यान मुद्दाका प्रतिवादीलाई २५ दिनसम्म न्यायिक हिरासतमा राखेर अनुसन्धान गर्न पाउने व्यवस्था छ । सो अवधिभन्दा अगावै पनि प्रहरीले अनुसन्धान प्रतिवेदन तयार पारी सरकारी वकीलको कार्यालयमा बुझाउन सक्दछ । प्रहरीले अनुसन्धान प्रतिवेदन बुझाएपछि मात्र सरकारी वकीलको कार्यालयले अदालतमा आरोपीविरुद्ध अभियोग दर्ता गर्दछ ।

रबिन भने सवारी ज्यान मुद्दाका आरोपी हुन् । गत जेठ २० गते बिहीबार राती साढे ७ बजे कार्कीले चलाएको प्रदेश ३–०१–००२ च २१३९ नम्बरको कारले दुई पैदलयात्रीलाई ठक्कर दिएको थियो । कारको ठक्करबाट ३५ वर्षीय भारतीय नागरिक मुकेश शर्माको मृत्यु भएको थियो भने मोरङको कटहरी गाउँपालिका– २ का २७ बर्षीय राजकुमार राजवंशी गम्भीर घाइते भएका थिए । घाईते राजवंशीको देबे्र हात, कुमको जोेर्नी, टाउको, अनुहार र छातीमा गम्भीर चोट लागेको थियो । आरोपी पक्षले भने मृत्तक परिवारलाई क्षतिपुर्ति स्वरुप ५० हजार भारतीय रुँपैया र घाईतेलाई अस्पतालमा लागेको उपचार खर्च दिएर घर पठाईसकेको छ ।

दुर्घटनामा पर्ने मृतक र घाइते विराटनगर–४ स्थित न्यु एभरेष्ट स्टिल उद्योगका कामदार हुन् ।