काठमाडौं । सिन्धुपाल्चोकको मेलम्ची नदीमा आएको बाढीमा बेपत्ता भएका ७ जनाको शव भेटिएको छ । मंगलबारको अविरल वर्षापछि आएको बाढीमा बेपत्ता भएका ७ जनाको शव भेटिएको हो ।
जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डीएसपी प्रकाश सापकोटाका अनुसार मृतकमध्ये ६ जनाको पहिचान खुलेको छ । उनका अनुसार मृतकहरू सबै मेलम्ची ट्राउट फर्ममा कार्यरत थिए ।
मृत्यु हुनेहरूमा हेलम्बु २ का ३१ वर्षीय माधव भण्डारी , ४२ वर्षका गणेश ज्योति, हेलम्बु ३ का १३ वर्षीया टीकामाया खड्का, हेलम्बु ७ का ज्ञानेन्द्र कक्षपति, चौतारा साँचोकगढी नगरपालिकाका २३ वर्षीय समुन्द्र नेपाल र हेलम्बु ६ का च्याङ्बा तामाङ छन् । जिल्ला प्रहरीका अनुसार बाढीले दुई पक्की मोटरबेलसहित आधा दर्जन झोलुंगे पुल र घर बगेको छ ।
इन्द्रावती र मेलम्ची जोड्ने मोटरेबल पुल बगेको डीएसपी सापकोटाले बताए । हेलम्बुबाटै उर्लिंदै आएको मेलम्चीले ८ वटा ट्राउट माछा फर्म, नाकोते पुल, तिम्बु, चनौटे बजार, खेतीयोग्य जमिन, आमाह्योल्मो बसपार्क, सिटी पार्क बगाएको उनले जानकारी दिए ।
मंगलबार बेलुका ५ बजेतिरबाटै मेलम्चीमा बाढी उर्लिएको थियो । लार्केबाट मेलम्चीमा पानी ल्याउने भनिएको मुहानमा पहिरो गएर खोला थुनिएको र केही घन्टापछि नै थुनिएको भाग फुटेर मेलम्ची बजारमा पानी पस्न थालेको मेलम्ची नगरपालिका–११ का सचिव मधुविलास देवकोटाको भनाइ
छ ।
बजारका मानिसहरु रातिदेखि सुतेका थिएनन् । सबैजना छटपटीमा यता र उता कुदिरहेका उनको भनाइ छ । कोही भने बग्न लागेको घरभित्रबाट केही सामान निकाल्न सकिन्छ कि भन्ने प्रयासमा थिए ।
खोलामा पानीको सतह घटेको छैन भने मेलम्ची बजारको सडकको खोला छेउका घरहरु अधिकांश पानीभित्र छोपिएका छन् । दुई तलाका घरसम्म पानीले छोपिएका छन् । प्रदेश सरकारको पहलका करिब ८ करोडको लागतमा बनेर अन्तिम चरणमा पुगेको कर्भड हल पानीले पूरै छोपिएको छ । रेडियो मेलम्चीको तीन तलाको भवनमध्ये दुई तला पूरै पानीमा परेको छ ।
बाढीले बगाएको पुलले पानीको बहाव रोकेको र खोला बस्तीतिर पसेको स्थानीयले बताएका छन् । वर्षापछि बेलुकादेखि नै मेलम्चीमा बिजुली गएको छ र बिजुलीका पोलहरु पनि कतिपय ठाउँमा बगाएको छ ।

