महामारीमा सरकारभन्दा बढी युवा सक्रिय : निःशुल्क भोजनदेखि राहत वितरणसम्म

विराटनगर । कोरोना संक्रमण रोकथाम तथा प्रतिकार्यमा पछिल्लो समय सरकारभन्दा स्थानीय समाजसेवी र युवाहरुको सक्रियता बढ्दै गएको छ । कोरोना महामारी र त्यसको प्रभाव मुल्यांकनमा तीनै तहका सरकार भुमिका नगन्य देखिँदा हाल स्थानीय युवाहरु नै निःशुल्क खाना खुवाउने अभियान देखि राहत वितरणसम्म सक्रिय देखिएका छन् । जेठ २० गते उच्च अदालत विराटनगरले पनि समस्यामा परेकालाई २४ घण्टाभित्र राहत वितरण गर्न सरकारलाई आदेश गरेको थियो । तर आदेश कार्यान्वयनको अभावमा गरिब तथा विपन्न वर्गका नागरिकहरु अझ समस्यामा परेका छन् ।

यस्तो बेला विराटनगरमा केही यस्तो मनकारी युवाहरुको समुह छ, जसले आफ्नो क्षमताले भ्याएसम्म महामारी प्रभावित वर्गलाई रोग र भोकबाट जोगाउन उल्लेख्य भुमिका निर्वाह गर्दै आईरहेका छन् । विभिन्न अभियान चलाएर उनीहरु गरिब तथा सहाराविहीनहरुको सहारा बन्दै छन् ।

युवाहरुको ‘हाम्रो अभियान’

दैनिक ज्याला मजदुरी गर्ने तथा सडकपेटीमा बसेर गुजारा चलाउँदै आएका वर्गका लागी हाल जिविकोपार्जन गर्ने एकमात्र माध्यम बनेको छ, ‘हाम्रो अभियान’ । हाम्रो अभियान तिनै युवाहरुको समुह हो, जसले पहिलो चरणको कोरोना महामारीमा गरिब तथा विपन्न वर्ग र सडकपेटीमा बस्न बाध्य नागरिकलाई १२० दिनसम्म निःशूल्क भोजन गराएका थिए ।

सुरुवातीमा चरणमा टीमका सदस्य विभिन्न दाताहरुको सहयोगमा सो अभियानले १२० दिनसम्म निरन्तरता पाएको थियो । त्यसबेला पेरिस सुवेदी, भुषण पोमु लिम्बु, सन्जु सापकोटा, दिपेन मरिक, पप्पु अन्सारी, भवेश पौडेल, गणेश शाह, चिरञ्जीवी आचार्य र गोपाल देबकोटा लगायतका युवाहरु टीमका सक्रिय सदस्य थिए । कुनै पनि राजनितिक संघ–संगठनको सहयोगबिना युवाहरुको सो अभियान अढाई महिनासम्म चलेको थियो । पछि जनजीवन सामान्य बन्दै गएपछि युवाहरुले खाना खुवाउने अभियान बन्द गरेका थिए ।

हाल नयाँ भेरिएन्टसहितको कोरोना संक्रमणको जोखिम उच्च भएसँगै पछिल्लो महिना दिनयता ओसिम आलम नेतृत्वका युवाहरु निःशूल्क खाना खुुवाउने अभियानमा पुनः सक्रिय भएका छन् । संक्रमणदर न्युनीकरणका निम्त्ति मोरङ प्रशासनले बैशाख १९ गतेदेखि जारी गरेको निषेधाज्ञाका कारण संकटमा परेका दैनिक ज्याला मजदुरी गर्ने तथा सडक पेटीमा बसेर रात काटने बेसहाराहरुको व्यवस्थापनका लागी युवाहरु पुनः सक्रिय भएका हुन् ।

जेठ १ गतेदेखि पुनः सुरु भएको अभियान मार्फत युवाहरुले बिहान र बेलुका गरि दैनिक ४०० बढीलाई निःशुल्क भोजन गराउँदै आएका छन् । विराटनगर बसपार्क पश्चिम श्री कृष्ण पार्टी प्यालेसको भवनमा खाना पकाएर सडकपेटीमा बस्नेलाई निःशूल्क वितरण आएको टीमका सदस्य विशाल शाहले बताए । पहिलो चरणको महामारीमा युवाहरुले विराटनगरको ट्राफिक चौकस्थित अभियानका सदस्य समेत रहेका पप्पु अन्सारीद्धारा सञ्चालित रोयल बिरयानी हाउसमा खाना पकाएर वितरण गर्दै आएका थिए ।

यस्तै जेठ १ गतेदेखि हाम्रो अभियानले अप्ठयारोमा परेका विद्यार्थीहरुलाई खाद्यान्न समेत वितरण गर्दै आएको युवा अभियन्ता ओसिम आलमले बताए । उनले पठनपाठनको शिलशिलामा विराटनगर आएका तर निषेधाज्ञाका कारण अप्ठयारोमा परेका विद्यार्थीहरुलाई चामल, दाल, नुन, तेल र चना लगायतका खाद्यान्न वितरण गर्दै आएको जानकारी दिए । ‘हामीले पछिल्लो समय अपाङ्गगता भएका व्यक्ति र वृद्धाश्रमलाई पनि खाद्यान्न सहयोग गर्दै आएका छौं,’ उनले भने, ‘प्रदेश र स्थानीय तहले आफ्नो दायित्वबोध नगर्र्दा हाम्रो अभियानकै सक्रियताले अप्ठयारोमा परेकाहरुले दुईछाक खान पाएका छन् ।’

युवा समुहको यो अभियान निषेधाज्ञा अवद्यिभरि जारी रहने जनाईएको छ । हाल यस अभियानमा भने कञ्चन शाह, क्रिस्चल आले मगर, दीपा दर्नाल, कर्ण बोखिम, चिरञ्जीवी आर्चाय, विशाल शाह, मञ्जु मण्डल, बन्दना कामत, शिवरतन शाह र निर्मल भण्डारी लगायतका युवाहरु सक्रिय छन् ।

राहत वितरणमा सक्रिय ‘मानव सहयोगी हात’

महिनादिन लामो निषेधाज्ञाका कारण जिविका चलाउन गाह्रो भएकाहरुलाई युवाहरुको संस्था मानव सहयोगी हातले नियमित खाद्यान्न वितरण गर्दै आएको छ ।

मानव सहयोगी हातले मोरङको विभिन्न स्थानीय तहमा पुगेर नियमित राहत वितरण गर्दै आएको हो । निषेधाज्ञा जारी भएसँगै सुरु भएको खाद्यान्न वितरण कार्यक्रम मार्फत मानव सहयोगी हातले दैनिक ४० देखि ५० परिवारलाई खाद्यान्न सहयोग गर्दै आएको छ । मानव सहयोगी हातले निषेधाज्ञा प्रभावित परिवारलाई लक्षित गर्दै कार्यक्रमलाई निरन्रता दिँदै आएको संस्थाका महासचिव ताजिम अन्सारीले बताए । ‘सहयोगका लागी आएपछि सम्बन्धित ठाउँमै पुगेर पहिले हामी प्रभावित परिवारको लिस्ट तयार पार्छौ । त्यसपछि आवश्यक खाद्यान्न जोहो गरेर वितरण गर्छौ,’ उनले भने, ‘हामीले चामल, दाल, नुन, तेल, पिठो र भुजा लगायतका खाद्यान्न सहयोग गर्दै आएका छौं ।’

जेठ २६ गते बुधबार मात्रै मानव सहयोगी हातले मोरङको रतुवामाई नगरपालिका–४ का गरिब तथा विपन्न वर्गलाई राहत स्वरुप खाद्यान्न वितरण गरेको छ । सहयोगी हातले वडा नं. ४ स्थित पैयामारीको सुकुम्बासी बस्तीमा ६७ घरपरिवारलाई राहत वितरण गरेको हो । प्रत्येक घरपरिवारलाई ५ किलो चामल, १ किलो दाल, १ किलो नुन, आधा लिटर तेल, १ दर्जन चाउचाउ, आधा किलो सोयाबिन र पापड लगायतका खाद्यान्न वितरण गरिएको संस्थाका अध्यक्ष सुमन कालिकोटेले बताए । उनले सुकुम्बासी घरपरिवारको स्वास्थ्य सुरक्षालाई दृष्टिगत गर्दै प्रत्येक परिवारलाई २५ पिस सर्जिकल मास्क र स्यानिटाईजर समेत वितरण गरिएको जानकारी दिए ।

विराटनगर ५ का युवाहरुको ‘अभियान साथी तपाईको’

कोरोना महामारीको रोकथाम तथा नियन्त्रणका लागी जारी निषेधाज्ञा अवधिमा पछिल्लो समय भोको पेट भर्ने सक्रिय समुह विराटनगर ५ का युवाहरु पनि हुन् ।

निषेधाज्ञा प्रभावित गरिब तथा विपन्न वर्ग लक्षित युवाहरुको अभियानले आईतबार २० दिन पुरा गरेको छ । ‘अभियान साथी तपाईको’ अभियानका १५ जना युवाहरुको समुहले जेठ १० गतेदेखि निषेधाज्ञा प्रभावित, गरिब तथा विपन्न, दैनिक ज्याला मजदुरी गर्ने र सडकपेटीमा बस्ने नागरिकलाई निःशुल्क खाना वितरण गर्दै आएका छन् । उनीहरुले दैनिक करिब २ सय जनालाई निःशूल्क भोजन वितरण गर्दै आएका छन् ।

राहत वितरणमा सरकारी चासो नदेखिँदा युवाहरुको समुहले कार्यभार सम्हालेको अभियानका संयोजक सुरेन शाक्यले बताए । ‘निषेधाज्ञा भएपनि सरकारले यसपटक राहत वितरण गरेन । धेरै नागरिकले भोकभोकै बस्नुपर्ने अवस्था सिर्जना भयो । हामीले आ–आफ्नो घरछेउमै त्यस्ता व्यक्तिहरु फेला पार्‍यौं,’ उनले भने, ‘अन्त्यमा त्यो अवस्था देख्न नसकेर यो अभियानको थालनी गरेका हौं ।’

मोरङमा निषेधाज्ञा जारी भएसँगै धेरैको रोजगारी गुमेपछि दुईछाक टार्न समेत गाह्रो भएपछि युवाहरुको समुहले खाना खुवाउने अभियानको थालनी गरेका थिए । हाल उनीहरुले वडा नं. ५ स्थित पुरानो मेट्रो गार्डेन भएको भवनमा खाना पकाएर बिहानै १० बजे विराटनगरको कुनाकुनामा पुगि भोको पेट भर्दैछन् । आफ्नै समुहका साथीहरुको आर्थिक सहयोगमा सुरु गरिएको अभियानलाई हाल बाह्य सहयोग पनि प्राप्त भईरहेको उनीहरुले बताएका छन् । ‘सुरुमा हामीहरुले व्यक्तिगत क्षमताले भ्याएसम्म अभियान चलायौं । पछि बाह्य दाताहरुको पनिन सहयोग आउन थाल्यो,’ अभियानका सदस्य अनिल खडकाले भने, ‘कसैले आर्थिक रुपमा भने कसैले खाद्यान्न सहयोग गर्न थाल्नुभयो ।’

विराटनगर–५ का लुईस शाक्य, वेद शंकर राउत, कल्याण कटवाल, विनोद मलाह, हरिकण मण्डल र मनोज मलाह लगायतका युवाहरु अभियानका सक्रिय सदस्यहरु हुन । युवाहरुले कोरोना संक्रमितहरुको घरमा निर्मलीकरण समेत गर्दैछन् । निषेधाज्ञा अवधिभर अभियानलाई निरन्तरता प्रदान गर्ने बिषयमा उनीहरु प्रतिबद्ध छन् ।

बिरामीका कुरुवाहरुलाई निःशुल्क भोजन

परिवर्तनका लागी हातेमालो नामक सामाजिक संस्थाले विराटनगरस्थित कोशी अस्पतालमा उपचाररत बिरामीका कुरुवाहरुलाई निःशुल्क भोजन अभियानलाई निरन्तरता प्रदान गरेको छ ।

बैशाख १९ गतेदेखि जारी निषेधाज्ञाका कारण होटल तथा चियानास्ताका पसलहरु बन्द रहेको अवस्थालाई दृष्टिगत गर्दै संस्थाले जेठ १३ गतेदेखि अभियानको सुरुवात गरेको हो । अभियान मार्फत अस्पतालमा दैनिक डेढ सय बढीले निःशूल्क भोजन प्राप्त गर्दै आएका छन् ।

 

विगत ४ वर्षदेखि सामाजिक क्षेत्रमा सक्रिय सो संस्थाले ‘समाज परिवर्तन युवाको काँधमा’ भन्ने मुल नाराका साथ सुरु भएको अभियानको पहिलो दिन संस्थाले १ सय २० जनालाई निःशूल्क भोजन वितरण गरेको थियो । निषेधाज्ञा अवधिभर बिरामीका कुरुवाहरुलाई निःशुल्क भोजन गराउने योजना रहेको संस्थाका अध्यक्ष विनोद परियारले बताए ।

यस्तै संस्थाले जेठ ११ गते मंगलबारदेखि संस्थाले अस्पतालमा उपचाररत कोरोना संक्रमित बिरामीको व्यवस्थापनमा सहयोग पु¥याउन स्वयंमसेवक समेत खटाएको संस्थाका सदस्य उज्जवल कार्कीले जानकारी दिए । संस्थाले पछिल्लो समय नगरक्षेत्रभित्रका कोरोना संक्रमितको घर समेत निर्मलीकरण गर्दै आएको जनाएको छ ।

वडावडामा ‘युवा अभियान’

महिना दिनयतादेखि सञ्चालित ‘युवा अभियान’ मार्फत विराटनगरको विभिन्न वडाका ६ सय बढी परिवारलाई खाद्यान्न सहयोग गरिएको छ ।

विराटनगर महानगरपालिका वडा नंं. १७ बाट खाद्यान्न वितरण अभियान सुरुवात गरिएको थियो । युवा अभियन्ता मो. साहिलको नेतृत्वमा सुरु गरिएको अभियान मार्फत हालसम्म वडा नं. ५, ६, १२ र १५ का गरिब तथा विपन्न वर्ग र सुकुम्बासीहरुलाई राहत स्वरुप खाद्यान्न वितरण गरिएको हो । अभियानलाई विभिन्न दाताहरुले सहयोग गरिरहेका छन् । निषेधाज्ञा अवधिभर अभियानलाई निरन्तरता दिने योजना रहेको अभियानका संयोजक मोहम्मद साहिलले बताए ।

अभियानलाई भने निरज मल्ल, सोनु शाह, अनुप शाह, श्रुति कुँवर शाह मोहम्मद राजु र इरसाद आलम लगायतका युवाहरुले सहजीकरण गरेका छन् ।

सोमबार, ३१ जेठ, २०७८, दिउँसोको ०४:१७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर