काठमाडौं । पार्टीको निर्णय बेगर सरकारमा सहभागी भएको भन्दै जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव पक्षले मन्त्रीहरुलाई स्पष्टीकरण सोधेको छ । यादव पक्षले पार्टीको कुन निर्णयबाट सरकारमा सहभागी भएको हो भन्दै स्पष्टीकरण सोधेको बताइएको छ ।
निर्वाचन आयोगले दुई अध्यक्ष हस्ताक्षरबिना पार्टीको निर्णय अभिलेख गर्न नसकिने र एउटा अध्यक्षले अर्को अध्यक्षलाई कारवाही गर्न नसक्ने भन्दै यस अघि भएका दुवै पक्षको कारवाही अमान्य हुने निर्णय गरेपछि यादव पक्षले अध्यक्ष बाहेक सरकारमा सहभागी नेताहरुलाई कारवाही गर्ने उद्देश्यले स्पष्टीकरण सोधेको हो ।
सञ्चार माध्यमहरुलाई अध्यक्ष उपेन्द्र यादवले प्रतिकृया दिँदै पार्टीको कुन निर्णयबाट सरकारमा सहभागी भएको हो भन्ने प्रश्न गरेर सात दिनभित्र जवाफ दिन स्पष्टीकरण सोधेको बताएका छन् । तर, भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री बनेका जसपा नेता लक्ष्मणलाल कर्णले भने स्पष्टीकरणबारे आफूलाई थाहा नभएको बताएका छन् ।
केपी शर्मा ओली नेतृत्वको सरकारमा जसपाको महन्थ ठाकुर र राजेन्द्र महतो पक्षका ९ मन्त्री र दुई राज्यमन्त्री सहभागी छन् ।