विराटनगर । सुनसरीको सीमा नाकादेखि खुल्लेआम रुपमा चाइनिज स्याउको भारततर्फ तस्करी हुने गरेको पाइएको छ । सुनसरी प्रहरीको संरक्षणमा सुनसरीको सीमा नाकाहरूबाट तेस्रो मुलकदेखि नेपाल आएको स्याउ भारततिर तस्करी हुने गरेको पाइएको हो ।

प्रहरीको संरक्षणमा सुनसरीको सीमा नाकादेखि तस्करी भएको चाइनिज स्याउ भारतीय प्रहरीले गाडीसहित ठूला परिमाणमा पक्राउ गरेपछि यस्तो रहस्य बाहिर आएको हो । सुनसरी जिल्लाको सीमा नाका हुँदै तस्करी गराएको तीन वटा नेपाली नम्बर प्लेटको गाडीसहित ठूलो परिमाणको चाइनिज स्याउ आइतबार बिहान भारतीय प्रहरीले बरामद गरेको हो ।

सुनसरीको सीमा नाका हुँदै तीन वटा गाडीमा लगिएको करिब १३ सय कार्टुन चाइनिज स्याउसहित भारतीय प्रहरीले ८ जनालाई पक्राउ गरेको बुझिएको छ । तस्करी भएर गएको स्याउ भण्टाबारी र लाइ नाकादेखि प्रहरीको संरक्षणमा गएको सुरक्षा स्रोतले जानकारी दिएको छ । भारतीय प्रहरीले बरामद गरेको चाइनिज स्याउ श्याम जैसवालको रहेको बुझिएको छ ।

जैसवालले सुनसरीको सीमा क्षेत्रका प्रहरीको इञ्चार्ज र जिल्लाका माथिल्लो तहका नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रमुखसम्मलाई सेटिङ मिलाएर लाइन चलाएको स्रोतको भनाई छ । सीमा नाकाहरू तस्करका नाइकेले किनेको कारण ट्रकबाटै तस्करीको स्वाउ भारत पुगेको हो । नाका हेरेर मासिक १० देखि १५ लाखसम्म रुपैयाँसम्म तस्कर समूहले जिल्लाका सुरक्षा निकायका प्रमुखलाई बुझाउने गरेको बताइएको छ ।

बरामद भएको चाइनिज स्याउ तस्करीको लाइन दिने भाण्टाबारी सीमा प्रहरी चौकी र सशस्त्र प्रहरी बिओपी हरीपुर सुनसरीले संरक्षण दिएको थियो । स्याउ तस्करीमा लाइन दिएको आरोपमा १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले सुनसरीका एक जना सईसहित तीन जना प्रहरीलाई निलम्बन गरि कारबाहीको प्रक्रिया अगाडि बढाएको छ ।

प्रदेश प्रहरीले सीमा प्रहरी चौकी भाण्टाबारीका प्रमुख गंगा थापालाई निलम्बनको लागि केन्द्रीय कार्यालयलाई सिफारिस गरेको छ । यस्तै भाण्टाबारी मातहतमा रहेको अस्थायी प्रहरी चौकी कोशी कटानका इञ्चार्ज असइ आशनारयण माझी र श्रीपुर प्रहरी चौकीका इन्चार्ज असइ टेकबहादुर कार्कीलाई निलम्बन गरिएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका डिआइजी इश्वरबावु कार्कीले जानकारी दिए ।

डिआइजीलाई असइदेखि मुनिका प्रहरीलाई निलम्बन गर्ने अधिकार रहेको छ । असइभन्दा माथिल्लो तहको प्रहरीलाई निलम्बन गर्नुपरे केन्द्रीय कार्यालयमा सिफारिस गर्नुपर्ने हुन्छ । प्रदेशले गरेको सिफारिसको आधारमा केन्द्रले निर्णय गर्नेछ ।

‘संगठनको आचरण बिपरीत काम गरेको पाइएपछि सीमा क्षेत्रमा खिटएका तीन जना प्रहरीलाई निलम्बन गरि अनुसन्धान भइरहेको छ,’ डिआइजी कार्कीले भने, ‘निलम्बन गरिएका इञ्चार्जको ठाउँमा १ नम्बर प्रदेश दंगा नियन्त्रण प्रहरी गण दुहवी र १ नम्बर प्रदेश सशस्त्र प्रहरी गण रानीको प्रहरी टोली पठाएको छ ।’ भाण्टाबारी प्रहरी चौकीमा थापाको ठाउँमा गणबाट सइ दिपक कार्कीलाई पठाएको छ । यस्तै कोशी कटान प्रहरी चौकीमा असइ नविन श्रेष्ठ, श्रीपुर प्रहरी चौकीमा सई वर्षकुमार राईलाई पठाएको छ ।

तीन वटा प्रहरी चौकीमा पुराना सबै प्रहरी हटाएर गणदेखि नयाँ टोली पठाइएको छ । स्रोतका अनुसार भण्टाबारी बाहेक सुनसरीको श्रीपुर, लाही, साहेवगञ्ज, घुस्की, अमडुवा, कप्तानगञ्ज नाकादेखि पनि तस्करी हुने गरेको छ । तस्करी हुने नाकादेखि सुनसरीका प्रहरीका सादा पोशकका प्रहरी जवान सबाम मिया, रविन्द्र दनुवार र रामकुमार मेहताले महिनावारी असुली गर्ने गरेको प्रहरी स्रोतले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीको प्रशासन फाँटका प्रहरी निरीक्षक जयदेव माझीले सेटिङ्ग मिलाएपछि सीमा नाका इञ्चार्ज पठाउने गरेको सुरक्षा स्रोतको भनाई छ । सुनसरी प्रहरी प्रमुख एसपी कमल थापाले सीमा क्षेत्रमा हुने चोरी तस्करी नियन्त्रणमा प्रहरी टोली लागिपरेको बताए । तस्करीजन्य गतिबिधि रोक्न सीमा क्षेत्रमा कडा निगरानी गरिएको उनले बताए ।

स्याउ तस्करी भएको विषयमा ड्युटीमा खटिएको प्रहरीको बदमासी भेटिएकोले केही प्रहरीलाई निलम्बन गरि अनुसन्धान सुरु गरेको थापाले बताए । स्याउलगायत अन्य सामानसमेत तस्करी हुनसक्ने सम्भावनालाई मध्यनजर गर्दै सीमा नाकामा कडाइ गरिएकोे उनले बताएका छन् ।