विराटनगर । प्रदेश सरकारले प्रदेश प्रमुखमार्फत बिहीबार प्रदेशसभामा पेश गरेको नीति तथा कार्यक्रमबारे विपक्षी दलहरुले खरो टिप्पणी गरेका छन् ।
नेपाली काङ्ग्रेस प्रदेश १ प्रमुख सचेतक केदार कार्कीले प्रदेशमा ‘प्रधानमन्त्री बा सम्मान’ कार्यक्रम ल्याउन सरकारलाई व्यंग्यात्मक सुझाव दिए ।
नीति तथा कार्यक्रममा राष्ट्रपति आमा सम्मान कार्यक्रम आएकोप्रति टिप्पणी गर्दै कार्कीले प्रधानमन्त्री बा सम्मान कार्यक्रम छुटेको बताएका हुन् । २०७६–२०७७ को नीति तथा कार्यक्रमका कुनैपनि कुरा पुरा नभएको बेला २०७८ मा तिनै कुरा,दोहोरिएको र कतिपय थप नारा ल्याएको उनले बताए । कार्कीले भने, ‘ नयाँ राष्ट्रपति आमा सम्मान कार्यक्रम आयो, प्रधानमन्त्री बा सम्मान गर्देको भए हुन्थ्यो नि ।’ आमाको मात्र संरक्षण गरेर नहुने भन्दै उनले बाको संरक्षणमा पनि ध्यान दिन सरकारलाई सुझाब दिए ।
नीतिमा कार्यक्रममा आश्वासनको पुलिन्दा मात्रै बाँडिएको भन्दै कार्कीले जनताको प्रतिनिधि संस्थालाई बदनाम गर्न कार्यान्यन नहुने कार्यक्रम राखिएको बताए । व्यवस्थालाई गाली गर्ने खालको नीति कार्यक्रम सरकारले ल्याएको उनको भनाइ छ । यो पटक पनि कपी पेस्टकै रुपमा नीति तथा कार्यक्रम आएकोभन्दै कार्कीले केही बुँदा थप्ने काम भएको र यसरी थप्ने मानिस पनि हाँसेर मुर्छा परेको होला भन्दै आलोचना गरे ।
सरकारले ल्याएको नीति तथा कार्यक्रमलाई सांसदले ‘झुटको पुलिन्दा’ र ‘नाराहरुको ठेली’ भनेका छन् । नीति तथा कार्यक्रम सरकारको आयु टिकाउने दाउपेचको लागि मात्र आएको उनीहरुको भनाइ थियो ।
नेकपा माओवादी केन्द्रका सांसद धीरेन्द्र शर्माले तीन वर्षदेखि प्रदेशका गौरवका योजना, रणनीतिक महत्त्वका योजना र अरुमा समेत बजेट हाल्ने हो भने ५० अर्ब रुपैयाँले पनि नपुग्ने भन्दै भ्रम मात्र छरिएको बताए । नीति तथा कार्यक्रममा समेट्नपर्ने नाममा सबै विषय अटाउन खोजिएको भन्दै उनले केवल महिलालाई पुरुष र पुरुषलाई महिला बनाउने योजनामात्र नसमेटिएको भन्दै व्यंग्य गरे ।
एमालेका सांसद विमल कार्कीले कोभिड महामारीले गाँजेको कारणले पनि नीति तथा कार्यक्रम कार्यान्वयनमा समस्या देखिएको बताउँदै नीति तथा कार्यक्रमको सफलता वा असफलताबारे प्रदेशसभामा छलफल गरिनुपर्ने बताए । उनले गैरबजेटरी खर्चबारे छानविन हुनुपर्ने माग गरे ।
नेकपा माओवादी केन्द्रकी सांसद उमिता विश्वकर्माले कार्यक्रम विगतमा जस्तै आश्वासन बाँड्ने पत्र मात्रै भएको बताइन् । हुन नसक्ने कार्यक्रम ल्याएर प्रदेश सरकारले जनतालाई ढाँट्ने काम गरेको उनको भनाइ थियो ।
काँग्रेसका प्रदेशसभा सदस्य प्रकाशप्रताप हाङ्गामले सीमामा तारबार लगाउन प्रदेश सरकारलाई आग्रह गरे । पर्खाल लगाउन नसकेपछि जमिनको सुरक्षाका लागि तारबार गर्नुपर्ने उनको भनाइ छ । नीति कार्यक्रममा सीमा तारबारको योजना नसमेटिएको बताउँदै उनले समेट्न आग्रह गरे ।
कांग्रेस सांसद शेखरचन्द्र थापाले आकर्षक नारा राख्ने तर त्यसलाई पूरा गर्ने गरी कार्यक्रम नल्याउने गरेको टिप्प्णी गरे । झिना मसिनादेखि ठूला विषय ल्याउने सम्भाव्यता अध्ययन गर्ने भन्ने तर नगर्ने प्रवृत्ति देखिएको उनको भनाइ छ । कांग्रेस सांसद शिवनारायण सिंह गन्गाईले सरकारका नीति तथा कार्यक्रम कार्यान्वयनमुखी भन्दा पनि छलछामको दस्तावेज भएको बताए ।
प्रदेशसभाको बैठकमा मुख्यमन्त्री अनुपस्थित भएकोमा पनि सांसदहरुले आपत्ती जनाएका थिए । सरकारको नीति तथा कार्यक्रमबारेको छलफलमा अनुपस्थित हुने मुख्यमन्त्री प्रदेशसभा र आफ्नै कार्यक्रमप्रति कति उत्तरदायी छन् भन्ने प्रश्न उठेको उनीहरुको भनाइ थियो । प्रदेशसभालाई बेवास्ता गर्ने मुख्यमन्त्रीले काठमाडौं गई ट्युसन पढेर आएपछि प्रदेशसभामा गीत, उखान टुक्कासमेत सुनाउन भ्याएको भन्दै काँग्रेस सचेतक कार्कीले आलोचना गरेका थिए ।