काठमाडौं । चिकित्सा शिक्षा आयोगमाथि भएको राजनीतिक हस्तक्षेपको विरोधमा प्रदर्शनमा उत्रिएका नागरिक समाजका अगुवाहरुलाई प्रहरीले पक्राउ गरेको छ ।
बालुवाटारमा विरोध जनाउँदै प्रदर्शनमा बसेका नागरिक अगुवामाथि प्रहरीले हस्तक्षेप गरेको हो । खगेन्द्र संग्रौला, नारायण वाग्ले, युग पाठक र संजीव लगायतलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
‘स्वास्थ्य सेवा हो, व्यापार होइन, सरकार सेवक हो मालिक होइन’, ‘निजी अस्पताल खोल्न प्रधानमन्त्री खटिने, सरकारी अस्पतालबाट बिरामी लखेटिने’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए । सर्वोच्च अदालतको निर्णय विपरित सरकारले माफियाको संरक्षमा मेडिकल कलेजलाई सम्बन्धन दिने तयारी गरेको भन्दै नागरिक अगुवाहरुले विरोध गर्दै आएका छन् ।
नागरिक आन्दोलनले सत्तानिकट व्यक्तिको मेडिकल कलेजलाई सम्बन्धन दिने सरकारको तयारीविरुद्ध प्रदर्शनको तयारी गरिरहेकै बेला उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो। उनीहरूलाई महानगरीय प्रहरी वृत्त, कमलपोखरीमा राखिएको छ।
कमलपोखरीका डिएसपी खुमलाल भुसालले निषेधाज्ञाको समयमा प्रदर्शनमा उत्रिएपछि नियन्त्रणमा लिएको जानकारी दिएका छन्।