विराटनगर । कामचलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार मन्त्रिपरिषद विस्तार गरेपछि उनको मन्त्रिमण्डल पूर्ण हुनेछ ।
यसअघि १७ सदस्यीय मन्त्रिमण्डल रहेकोमा ओलीले नेकपा एमाले र राजपाको महन्थ ठाकुर पक्षका नेताहरूलाई समेटेर एक राज्यमन्त्रीसहित ८ जना मन्त्री थपेका छन् ।
राजपाका राजकिशोर यादव र माओवादीबाट एमाले प्रवेश गरेकी ज्वालाकुमारी साह मन्त्री बनेपछि ओली मन्त्रिपरिषदमा प्रदेश २ को बहुमत पुगेको छ । २५ सदस्यीय मन्त्रीमण्डलमा १३ जना प्रदेश नम्बर २ का छन् । यस्तै वाग्मतीका ५ जना तथा सुदुरपश्चिम, लुम्बिनी, गण्डकी, कर्णाली र प्रदेश १ का १–१ जना मन्त्री बनेका छन् ।
गत जेठ २१ गते प्रधानमन्त्री ओलीले राजपाका नेता राजेन्द्र महतोलाई उपप्रधानसहित १० मन्त्री नियुक्त गरेका थिए । महतो उपप्रधान तथा सहरी विकास मन्त्री छन् । राजपाका शरदसिंह भण्डारी ऊर्जा, अनिलकुमार झा खानेपानी, लक्ष्मणलाल कर्ण भूमिसुधार, एकवाल मियाँ खेलकुद, विमल श्रीवास्तव श्रम, उमाशंकर अरगरिया पर्यटन, चन्दा चौधरी महिला तथा बालबालिका र चन्द्रकान्त चौधरी ऊर्जा राज्यमन्त्री छन् ।
जेठ १० गते नैै उपप्रधान एवं परराष्ट्रमन्त्रीमा नियुक्त भएका रघुवीर महासेठ पनि प्रदेश १ कै हुन् । यस्तै कानुनमन्त्री रहेका लीलानाथ श्रेष्ठ पनि प्रदेश नम्बर २ कै हुन्।
राजपाबाटै महिला राज्यमन्त्री बनेकी रेनुका गुरूङ भने वाग्मती प्रदेशकी हुन् । बाग्मतीबाट शेरबहादुर तामाङ स्वास्थ्यमन्त्री र कृष्णगोपाल श्रेष्ठ शिक्षामन्त्री छन् । बिहीबार सञ्चार मन्त्रीमा नियुक्त हुने नैनकला थापा र सामान्य प्रशासन मन्त्री बन्ने गणेश पहाडी पनि वाग्मतीका हुन् ।
उप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल लुम्बिनी प्रदेशका हुन् । यस्तै गृहमन्त्री खगराज अधिकारीले गण्डकी, बनमन्त्री नारदमुनी रानाले सुदुरपश्चिम, विना विभागीयमन्त्री मोहन बानियाँले कर्णालीको प्रतिनिधित्व गर्छन् ।
भौतिक पूर्वाधारमन्त्री वसन्त नेम्बाङ प्रदेश १ का हुन् भने भक्तपुर घर भएपनि संसद वहाल भएको अवस्थामा प्रधानमन्त्री केपी ओलीले प्रदेश १ को प्रतिनिधित्व गरेका थिए ।