बादलपत्नीदेखि नेपाल पक्ष छोडेकालाई मन्त्री

विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार फेरि मन्त्रिपरिषद विस्तार गर्ने भएका छन्। प्रतिनिधिसभा विघटनपछि असंवैधानिक रुपमा मन्त्रिपरिषद विस्तार गरेको भन्दै सर्बोच्च अदालतमा दायर रिटमा सरकारको जवाफ माग भएको बेला फेरि मन्त्रिपरिषद विस्तारको तयारी भएको हो ।

प्रधानमन्त्रीले बिहीबार विस्तार गर्न लागेको मन्त्रिमण्डलमा माओवादी केन्द्र छाडेर एमालेमा प्रवेश गरेका निवर्तमान गृहमन्त्री रामबहादुर थापाकी श्रीमति नैनकला थापाले स्थान पाउने भएकी छन् । यसअघि प्रधानमन्त्रीले थापालाई गृहमन्त्री नियुक्त गरेकोमा संसद नरहेको व्यक्ति एक पटकभन्दा बढि मन्त्री बन्न नपाउने भन्दै सर्बोच्च अदालतले उनलाई पदमुक्त गरेको थियो ।

मन्त्रीबाट पदमुक्त भएका थापाले प्रदेश ३ बाट राष्ट्रियसभा सदस्यमा पनि पराजित भएका थिए । उनी मन्त्री र सांसद दुबै पदबाट मुक्त भएपछि प्रधानमन्त्रीले उनकी श्रीमतिलाई मन्त्री बनाउन लागेका हुन् ।

यसैगरि नेकपा एमालेको माधबकुमार नेपाल समूह छाडेर ओली समूहमा प्रवेश गरेका गणेश पहाडी पनि मन्त्री बन्ने भएका छन् । उनलाई सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी दिने तयारी छ । वैशाख २७ गते संसदमा प्रधानमन्त्री ओलीले विश्वासको मत लिँदा अनुपस्थित रहेका पहाडीले राष्ट्रपति कार्यालयमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन बुझाइएको पत्रमा पपन हस्ताक्षर गरेका थिए । त्यसपछि उनी उनी ओली समूहमा प्रवेश गरेका हुन् ।

यसैगरि गृहमन्त्रीमा खगराज अधिकारी नियुक्त हुने भएका छन् । गृहमन्त्रीमा महेश बस्नेतको पनि दावी रहेकोमा गुण्डागर्दी र अपहरण जस्ता काण्डमा मुछिएको कारण उनलाई सुरक्षा निकायले सहज रुपमा नलिने बुझेपछि अधिकारीलाई गृहमन्त्री नियुक्त गरिएको स्रोतले जनाएको छ ।

यसअघि १० जना मन्त्री पाएको राजपाको महन्थ ठाकुर समूहका राजकिशोर यादव पनि मन्त्री बन्ने भएका छन् । ठाकुरले मन्त्री नबनाएपछि उपेन्द्र यादव समूहमा प्रवेश गर्ने तयारी गरेका यादवलाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री बनाइने भएको छ । यस्तै मोहन बानियाँ विना विभागीय मन्त्री बन्ने भएका छन् भने आशा विक बन राज्यमन्त्री बन्ने भएकी छन् ।

यसैगरि वन तथा वातावरण मन्त्री नारदमुनी राना र कृषि मन्त्रीको रूपमा ज्वाला कुमारी साहलाई शपथ खुवाउने तयारी छ । रानाले प्रतिनिधिसभा निर्वाचनमा काँग्रेस सभापति शेरबहादुर देउवाकी श्रीमति आरजु देउवालाई पराजित गरेका थिए । प्रदेश २ की प्रदेशसभा सदस्य रहेका साह भने माओवादी छाडेर एमालेमा प्रवेश गरेपछि प्रदेशसभा सदस्यबाट पदमुक्त भएकी छन् ।

नियुक्त भएका मन्त्रीहरुको सपथ ४ बजेको लागि तय गरिएको छ । यसअघि प्रधानमन्त्री ओलीले राजपाका ८ जनालाई मन्त्री र २ जनालाई राज्यमन्त्री नियुक्त गरेका थिए ।

बिहिबार, २७ जेठ, २०७८, दिउँसोको ०१:३१ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर