विराटनगर। प्रतिनिधिसभा विघटनको विरुद्ध परेको रिटको सुनुवाईको लागि सर्बोच्च अदालतका प्रधान न्यायाधीश चोलेन्द्र समशेर राणाले वरिष्ठाताका आधारमा संवैधानिक इजलास गठन गरेका छन् ।
प्रधानन्यायाधीश राणको अध्यक्षतामा बरिष्ठताका आधारमा न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईले अब रिटहरुमाथि सुनुवाई गर्नेछन् ।
यसअघि गठित इजलासका दुई न्यायाधीशमाथि कानून व्यवसायीले प्रश्न उठाएपछि विवाद भएको थियो । प्रश्न उठेका न्यायाधीशले इजलास छोड्न नमानेपछि इजलासमा रहेका दुई न्यायाधीश दिपक कार्की र आनन्दमोहन भट्टराईले निश्पक्ष न्याय सम्पादन हुने नदेखिएको भन्दै इजलास छाडेर हिडेपछि इजलास पुनर्गठन भएको हो ।
अघिल्लो पटक पुस ५ गतेको प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि त्यस विरुद्धको मुद्द सुनुवाइका लागि गठित इजलासमा न्यायाधीश हरिकृष्ण कार्कीमाथि स्वार्थ बाझिने भन्ने प्रश्न उठेको थियो । विगतमा कार्की महान्यायाधिवक्ता रहेका कारण प्रधानमन्त्रीविपक्षी रहेको मुद्दामा स्वार्थ बाझिने भन्दै रिट निवेदकपक्षका कानुनव्यावासायीले प्रश्न उठाएपछि उनले इजलास छाडेका थिए ।
कार्की वरिष्ठताको रोलक्रममा भएपनि त्यहि नजिकार आधारमा इजलासमा परेका छैनन् । वरिष्ठताको क्रममा चौथो नम्बरमा रहेका न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ कोरोना संक्रमणको कारण आइसोलेसनमा रहेकोले उनी पनि इजलासमा परेनन् ।
कार्की नपरेपछि खतिवडा र श्रेष्ठ नपरेपछि भट्टराई संवैधानिक इजालसमा परेका हुन् । यसअघि सर्बोच्च बारका प्रतिनिधिसभाको भेटमा प्रधानन्यायाधीशले संवैधानिक इजलाससम्बन्धी नियममै परिर्वतन गरेर वरिष्ठताका आधारमा संवैधानिक इजलास गठन गर्ने सहमति जनाएका थिए ।


























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।