विराटनगर । सरकारले स्थानीय सरोकारवालहरुसँग छलफल र सहमति नगरी ताप्लेजुङको सुकेटार बिमानस्थलको नाम परिवर्तन गरेकोमा ताप्लेजुङका सांसद तथा नेकपा एमालेका नेता योगेश भट्टराईले विरोध गरेका छन् ।
सामाजिक सञ्जाल फेसबुक मार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले असल काम असल नियतबाट मात्र गर्नुपर्ने भन्दै सरकारले गलत मनसायबाट नाम परिवर्तन गरेको आरोप लगाएका हुन् । उनले यस कार्यबाट सरकारले बिवाद, विभाजन, अनावश्यक तनाव मात्र झेल्नु पर्ने चेतावनी दिएका छन् ।
उनले ऐतिहासिक रुपमा कुनै नाम वा विशेषताबाट चिनिएका स्थानहरुको परिचय बदल्नु भन्दा अघि त्यसको आवश्कता, औचित्यता, सान्दर्भिकता र परिणामको बारेमा स्थानीय सरोकारवाला समूह, जनप्रतिनिधिसहित नागरिकस्तरमा ब्यापक छलफल र विमर्स गर्नुपर्नेमा सरकारले त्यसो नगरेको बताएका छन् । उनले पहिचान मेटाउने प्रयत्न गरेको र सहभागीतामूलक लोकतन्त्रको अभ्यास विपरित सरकार गएको भन्दै कडा आलोचना गरेका छन् । सरकारको काम गर्ने शैलीले सहभागीतामूलक लोकतन्त्र बलियो हुन नसक्ने जिकिर पनि गरेका छन् ।
संघीय सरकारले शनिबार अध्ययादेश मार्फत सार्वजनिक गरेको बजेटमा ताप्लेजुङको सुकेटार विमानस्थललाई स्वर्गीय रबिन्द्र अधिकारी विमानस्थल र चुहानडाँडालाई आङछिरिङ शेर्पा विमानस्थल नामाकरण गरेको थियो । त्यसको स्थानीयवासी र उनीहरुका प्रतिनिधिको रुपमा रहेका राजनीतिक दलका नेताहरुले छुट्टाछुट्टै विरोध गरेका छन् ।
नेकपा माओवादी केन्द्र प्रदेश १ प्रदेश सभा संसदीय दलका नेता तथा पाँचथरका प्रदेशसभा सांसद इन्द्रबहादुर आङ्बोले पनि सामाजिक सञ्जाल मार्फत संघीय सरकारको सो निर्णयको विरोध गरेका थिए ।