एमालेका गणतन्त्र विरोधी तीन जना नेता को हुन् ?

बामदेब भन्छन्–‘गिरिजा, प्रचण्ड र माधव गणतन्त्रका महानायक’

विराटनगर । नेकपा एमालेका उपाध्यक्ष एवं पार्टी एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले गणतन्त्र स्थापना गर्न गिरिजा प्रसाद कोइराला, माधवकुमार नेपाल र प्रचण्ड तीन जना महानायकको भूमिका खेलेको बताएका छन् ।

गणतन्त्र स्थापनाको १४ औं वर्ष प्रवेशको सन्दर्भमा आज एक शुभकामना सन्देश जारी गर्दै गणतन्त्रका महानायकको मात्र होइन नेकपा एमाले भित्रका तीन जना गणतन्त्र विरोधी नेताहरुको समेत स्मरण गरेका छन् ।

उनले एमालेको केन्द्रीय कमिटीमा राजतन्त्रको अन्त्य र गणतन्त्र स्थापनाको लिखित प्रस्ताव राख्ने व्यक्ति आफू भएको बताएका छन् । पार्टीमा गणतन्त्रको प्रस्ताव राख्दा तीनजना नेताहरु विपक्षमा उभिएको नेता गौतमले बताएका छन् । यद्यपी गणतन्त्रको प्रस्तावको विपक्षमा उभिएका नेताहरु को थिए भन्ने विषयमा भने गौतम मौन छन् ।

‘विडम्वना नै भन्नुपर्छ नेकपा एमालेको केन्द्रीय कमिटीको वहुमतले तत्कालीन संघर्षको मुख्य नारा राजतन्त्रको अन्त्य र गणतन्त्र स्थापना तय गर्दा मुख्य ३ नेता विरुद्धमा हुनुहुन्थ्यो’ गौतम लेख्छन्, ‘त्यो बैठकमा अब संघर्षको मुख्य नारा गणतन्त्रको स्थापना हुनुपर्छ भनेर लिखित प्रस्ताव राख्ने व्यक्ति म थिएँ ।’

गणतन्त्र स्थापनामा गिरिजाप्रसाद कोइराला, माधवकुमार नेपाल र प्रचण्डले भूमिका खेलेको गौतमले भनेका छन् ‘२०६५ जेठ १५ गतेको अवस्थामा नेपाल ल्याई पुर्याउने युगान्तकारी संघर्षका महानायकहरु भने नेपाली कांग्रेस पार्टीका सभापति गिरिजाप्रसाद कोइराला, नेकपा एमालेका महासचिव माधवकुमार नेपाल र नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड हुनुहुन्थ्यो ।’ तीन नेतामध्ये अझैपनि दुई जना जीवित रहेको भन्दै उनले गणतन्त्र स्थापना गर्ने नेताहरु कर्नरमा पर्दा गणतन्त्र जोखिममा रहेको संकेत गरेका छन् । उनले सबै आन्दोलनहरुका सहिदलाई श्रद्धाञ्जली र सम्मान प्रकट गर्दै शहीदको सपना साकार पार्न नेपाली जनतालाई दृढतापूर्वक अगाडि बढ्न आह्वान गरेका छन् ।

शनिबार, १५ जेठ, २०७८, बिहानको १०:१८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर