विराटनगर । कोरोना महामारीबाट आक्रान्त भएको बेला संघीय सरकारबाट केही स्वास्थ्य सामग्री प्राप्त हुने खबर पाएपछि खुसी भएका मोरङ सुन्दरहरैंचा नगरपालिकाका प्रमुख सामान पाएपछि आक्रोशित बनेका छन् ।
दुई लाख जनसंख्या भएको नगरपालिकाका जनतालाई सुरक्षीत राख्न, कोरोना रोकथाम र नियन्त्रणका लागि संघीय सरकारबाट प्राप्त भएको स्वास्थ्य सामग्रीको विवरण जब उनको टेबलमा पुग्यो उनी निराश भए । संघीय सरकारबाट नगरपालिकालाई एक झोला भन्दा कम स्वास्थ्य सामग्री प्राप्त भएपछि उनी आक्रोशित बनेका हुन् ।
कोरोना संक्रमण सुन्दर हरैंचामा पनि राम्ररी फैलिसकेको छ । संक्रमणबाट स्थानीयको मृत्यु हुने क्रमपनि रोकिएको छैन । नगरपालिकाले आफ्नो बुताले भ्याएसम्म रोकथाम र नियन्त्रणका लागि काम पनि गरिरहेकै छ । यस्तो बेलामा संघीय सरकारबाट केही महत्वपूर्ण सहयोग हुने अपेक्षा नगरपालिकाको थियो । संघीय सरकारको तर्फबाट स्वास्थ्य विभागले सामग्री पनि पठायो तर ती सामान संक्रमण रोकथाम र नियन्त्रणका लागि मूल्य विहीन झैं थिए ।
नगरपालिकाका लागि विभागले एकथान अक्सोमिटर, दुई थान थर्मल गन, १० थान पिपिई सेट, एन ९५ मास्क १० थान र सर्जिकल मास्क ५०० थान पठाएको नगरपालिकाका प्रमुख शिवप्रसाद ढकालले बताएका छन् । उनले व्यंग्य गर्दै सामाजिक सञ्जालमा लेखेका छन् ‘सरकारबाट जनताको सुरक्षाका लागि प्राप्त यो सहयोग आजसम्मकै उच्च हो । लाजसरम भन्ने शव्द हुँदोरहेनछ । अझै प्रदेश सरकार त हरियाणातिर छ कि हनिमुनमा ??’ उनले ‘भाषण र तिकडमले कोरोना भगाउने योजना जो बनेको छ हामी साह्रै भाग्यमानी नेपाली’ भन्दै सरकार विरुद्ध कटाक्ष गरेका छन् ।
त्यही भएर भनेको स्थानिय सरकार भए पुग्छ l