विराटनगर । प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्रीको सिफारिस र संविधान विपरित राष्ट्रपतिको निर्णयको विरुद्धमा सर्वोच्च अदालतमा दुई दर्जन बढी रिट निवेदन दर्ता भएकै दिन राति प्रधान न्यायाधीश र प्रधानमन्त्रीबीच बालुवाटारमा भेटवार्ता भएको छ ।
सोमबार राति प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबरा शक्ति पृथकीकरणको सिद्धान्त र संवैधानिक दायरा कुल्चिदै प्रधानमन्त्री निवासमा प्रवेश गरेका हुन् । यस अघि पनि जबराले यस्तै भेटघाट गरेको विषय विवादित बनेको थियो ।
सोमबार राति करिव ९ बजेको समयमा प्रधानन्यायाधीश जबरालाई लिन बालुवाटारबाट छुट्टै गाडी पठाइएको थियो । जबरा आफ्नो गाडीमा नभई लुसुक्क बालुवाटारले पठाएको गाडी चढेर प्रधानमन्त्री निवास गएको बताइएको छ ।
सोमबार रातिको उक्त घटनाले नेपाली राजनीतिक वृत्तमा नयाँ आशंका र सेटिङको संकेत पनि गरेको छ । यस अघि पनि प्रधानमन्त्रीले आफु निकटका नेताहरुलाई सबै सेटिङ मिलाएको भन्दै विश्वस्त तुल्याउने गरेको भनाईहरु सार्वजनिक हुँदै आएको थियो । पछिल्लो भेटघाटलाई पनि नयाँ सेटिङ वा षड्यन्त्रको अर्थमा लिइएको छ ।
प्रतिनिधि सभा विघटन विरुद्ध दायर भएका दर्जनौं रिटहरु संवैधानिक इजलासबाट हेर्ने वा नियमित इजलासमा पठाउने भन्ने विषयमा छलफल चलिरहेकै बेला प्रधान न्यायाधीश प्रधानमन्त्री निवास छिर्नु स्वतन्त्र न्यायको सिद्धान्त विपरित मात्र नभई संवैधानिक मूल्य विपरित समेत भएको भन्दै सार्वजनिक आलोचना समेत सुरु भएको छ ।
पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले आज बिहानै सामाजिक सञ्जालमा एउटा पोष्ट गर्दै प्रधान न्यायाधीशलाई मध्यराति निवासमा बोलाउने र पटक पटक विदेशी दूतले भेट्ने कार्यले अनिष्टको संकेत गरिरहेको बताएका छन् । उनले लोकतन्त्रका लागि यी शुभ संकेत नभएको भन्दै खिलराज रेग्मी प्रकरण राजनीतिको अपवाद भएको भन्दै त्यो नजिर हुन नसक्ने भन्दै भ्रममा नपर्न प्रधान न्यायाधीश सचेत गराउने आशयसमेत व्यक्त गरेका छन् ।
डा. भट्टराईले भनेका छन्–प्रधान न्यायाधीशलाई प्रमले मध्यरातमा निवास बोलाउने, विदेशी दूतले पटकपटक भेट्ने आदि समाचारहरु लोकतन्त्रका लागि शुभ संकेत हैनन् । खिलराज रेग्मी प्रकरण अन्तरिम संविधान कालको अपवाद हो, त्यो नियम र नजिर बन्न सक्दैन । राज्यका प्रमुख अंग धुजा–धुजा पारेर संविधान र लोकतन्त्र मास्ने खेल पूरा नहोस ।’