विराटनगर । एमाले अध्यक्ष केपी शर्मा ओलीको क्रियाकलापको खरो विरोध गर्दै आएकी रामकुमारी झाँक्रीलाई ओली समूहले साधारण सदस्यबाट निष्काशन गर्ने निर्णय गरेपछि उनले कारबाहीको कुनै अर्थ नभएको बताएकी छन् । उनले आफ्नो राजनीतिमा सो निर्णयले कुनै फरक नपर्ने भन्दै गलत हर्कतको सँधै विरोध गर्ने बताएकी हुन् ।
झाँक्रीले ओली समूहले गरेको कारबाहीलाई हलुका रुपमा लिँदै सामाजिक सञ्जालमा व्यंग्यसमेत गरेकी छिन् । उनी लेख्छिन् ‘देउरालीको चौतारीमा हावा सरर, बगाएर लाने भो माया तिमीलाई बालै फरर …’
प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको एमाले स्थायी समिति बैठकले वरिष्ठ नेता झलनाथ खनाल, माधव नेपाल र झाँक्रीसहित ११ नेतालाई पार्टीबाट निष्काशन गर्ने निर्णय गरेको थियो ।