राष्ट्रपति कार्यालयको विज्ञप्ति असंवैधानिक : सभामुख सापकोटा

काठमाडौं । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले संसद विघटन गर्ने राष्ट्रपति कार्यालयको जेठ ७ गतेको विज्ञप्ति नै असंवैधानिक भएको दाबी गर्नुभएको छ ।

आज एक विज्ञप्ति जारी गर्दै सभामुख सापकोटाले संसद विघटनलाई असंवैधानिक र अलोकतान्त्रिक भएको दाबी गरेका छन् । ‘राष्ट्रपति कार्यालयबाट २०७८ जेठ ७ गते जारी विज्ञप्ति नेपालको संविधान, राजनीतिक दल सम्बन्धी ऐन २०७३ र प्रतिनिधिसभा नियमावली २०७५ ले गरेको व्यवस्थासँग मेल खाएको देखिंदैन । जुन शक्ति पृथकीकरण, सन्तुलन र नियन्त्रणको सिद्धान्त विपरीत हुन गएको छ,’ सभामुख सापकोटाद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

यस्तै संसद विघटन ११ फागुनमा सर्वोच्च अदालतले गरेको फैसला विपरित भएको पनि सभामुखको दाबी छ । ‘सर्वोच्चको फैसलामा ‘अन्य विकल्प हुँदाहुँदै कसैको इच्छा वा आत्मनिष्ट रुपमा देखेको आवश्यकताका आधारमा आवधिक चुनाव बाहेकको अवस्थामा जनतालाई समेत आर्थिक दायित्व पर्ने गरी प्रतिनिधिसभा विघटन गरिनु संविधानको मर्म र उद्देश्य नहुँदा त्यस्तो कार्य संविधानसम्मत हुँदैन’ भनेको स्मरणीय छ ।’

संविधानको धारा ७६ (५) अनुसार वैकल्पिक सरकार गठनका लागि वस्तुगत आधार पेश भइसकेको अवस्थामा प्रधानमन्त्री नियुक्त गर्ने विकल्प रहँदारहँदै संसद विघटन गरिएको सभामुखको दाबी छ ।

शनिबार, ०८ जेठ, २०७८, साँझको ०६:४७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर