१४९ सांसदको हस्ताक्षर लिएर सर्वोच्च जानुपर्छ : डा.शेखर

विराटनगर । नेपाली काङ्ग्रेसका नेता डा.शेखर कोइरालाले असंवैधानिक रुपमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेकोले १४९ सांसदहरू आफ्नो हस्ताक्षरसहित सर्वोच्च अदालत जानुपर्ने बताएका छन्।

राष्ट्रपति र प्रधानमन्त्री दुबै मिलेर संविधान च्यात्न खोजिरहेकोले त्यसविरुद्ध विरूद्ध बहुमतका सांसदले सर्वोच्च जानुपर्ने कोइरालाले बताए ।

कोइराला निवास विराटनगरमा शनिबार सञ्चारकर्मीसँगको भेटमा नेता कोइरालाले संविधानको धारा ७६ को ५ अनुसारको सरकार निर्माण गर्न आदेश दिने विश्वास गर्नुभयो । राष्ट्रपतिले प्रतिनिधिसभामा ओली र शेरबहादुर दुबैको बहुमत छैन भन्ने संविधानतः देखाउन नमिल्ने भन्दै उनले राष्ट्रपतिलाई शंका लागेको भएपनि सार्वभौम संसद डाकेर त्यसको छिनोफानो हुनुपर्ने उल्लेख गर्नुभयो । ‘नभएको अधिकार प्रयोग गरेर संविधानको संरक्षकबाटै संविधान च्यात्ने काम भएको छ’ उनले भने, ‘गणतन्त्रलाई समाप्त पार्ने प्रक्रिया सुरु भएको हो।’

धारा ७६ को ३ अनुसार प्रधानमन्त्री भएका ओलीले ४ अनुसार विश्वासको मत लिन नसकेपछि स्वतः पदमुक्त हुने भन्दै कोइरालाले फेरि ओलीले नै संसद् विघटन र निर्वाचनको सिफारिस हाँस्यास्पद र आश्चर्यजनक रहेको कोइरालाको भनाइ छ । विश्वासको मत लिन सकिन भनेर पत्र लेखेको ओलीले पनि बहुमत दावी गरेको भन्ने राष्ट्रपतिको भनाई नै आफंैमा बाझिएको उनको भनाइ छ ।

‘प्रधानमन्त्रीजीले पटक–पटक बहुमत नभएको हुँदा सरकार चलाउन गाह्रो भएको कुरा गर्नुभएको छ। हिजो पनि भन्नुभएको छ। तर, जालसाजी गरेर १५३ सांसदको समर्थन रहको कुरा गर्दा राष्ट्रपतिले हो भन्नु लज्जास्पद छ’ उनले भने, ‘उपेन्द्रजी र माधवजीले राष्ट्रपतिसमक्ष सशरीर हामी यहीँ छौँ भनेर भनेको अवस्थामा राष्ट्रपति र प्रधानमन्त्री नै कीर्ते र जालसाजीमा लागे ।’

ओली सत्ता कब्जा गरेर एकतन्त्रीय शासन प्रणालीमा जान खोजिरहेकोले यसविरुद्ध यसविरुद्ध लोकतन्त्र पक्षधर सबै एक हुनुपर्ने कोइरालाले बताए । आफू पूर्वराष्ट्रपति रामवरण यादवसहित २०६२–६३ को आन्दोलनमा जेलमा बस्दा केपी ओली र विद्या भण्डारी एकैसाथ भेट्न आएर राजाको समर्थन गरेर जेलमुक्त हुन सुझाब दिएको स्मरण गर्दै उनले मुलुकमा गणतन्त्र स्थापना भएपनि उनीहरुको चेतनामा परिवर्तन नभएको आरोप लगाए ।

नेपालको संविधानलाई धुजाधुजा पार्ने षडयन्त्रमा दुबै जना लागेको भन्दै कोइरालाले सरकारी रवैया र कोभिडका कारण मङ्सिर ३ भित्र ओलीले चुनाव गराउने संभावना नरहेकोले मुलुक द्वन्द्वमा जाने बताए। उनले पार्टीको महाधिवेशन भदौमा हुनुपर्ने भन्दै संसद विघटन सदर भएर चुनाबमा जानुपर्ने अवस्था आए चुनाबी अभियानकै क्रममा महाधिवेशन सम्पन्न गर्नुपर्ने धारणा राखे ।

शनिबार, ०८ जेठ, २०७८, दिउँसोको ०१:१९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर