विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले असंवैधानिक ढंगबाट प्रतिनिधिसभा विघटन गरेपछि त्यसको जनस्तरमा चौतर्फी बिरोध सुरु भएको छ । पटक पटक गल्ति दोहोर्याएको र कोरोना कहरका बेला जनताको स्वास्थ्य, उपचार र रोकथामका लागि काम गर्नुको साटो संविधान विपरितका गतिविधिलाई निरन्तरता दिएको भन्दै विरोधका आवाजहरु झांगिएका छन् ।
विगतमा केपी बा आइ लभ यू भन्ने कतिपय युवाहरुले समेत यसपटकको घटनालाई गलत र जनविरोधी भन्दै सामाजिक सञ्जालहरुमा अभिव्यक्त गरेका छन् ।
सर्वसाधारण नागरिक मात्र होइन प्रदेशसभाका प्रतिनिधित्व गर्ने विभिन्न दलका नेताहरुले पनि पछिल्लो घटनालाई लिएर राष्ट्रपति र प्रधानमन्त्रीप्रति तिखो र कटु टिप्पणीहरु गरेका छन् । नेकपा माओवादी केन्द्र प्रदेश १ संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले मध्यरातमा संसदख विघटन र निर्वाचनको घोषणा गर्ने असंवैधानिक कदम संघीय लोकतान्त्रिक गणतन्त्र, संविधान र आजसम्मको उपलब्धि समाप्त पार्ने षड्यन्त्र भएको टिप्पणी गरेका छन् ।
उनी लेख्छन् ‘ कोरोना महामारीले उत्पन्न असामान्य परिस्थितिको बिच मध्यरातमा संसद विघटन र निर्वाचनको घोषणा गर्ने असंवैधानिक कदम संघीय लोकतान्त्रिक गणतन्त्र,संविधान र आजसम्मको प्राप्त उपलब्धि समाप्त गर्न चालिएको षड्यन्त्रमुलक परिघटना हो ..। सबै अग्रगमन पक्षधरहरुले यो कदमको राजनैतिक र कानुनी प्रतिबाद गरौं ..। शिखन्डी रबर स्ट्याम्प बिध्या र भस्मासुर खड्गप्रसादको अन्त्य निश्चित छ ।’ उनले अग्रगमन पक्षधरहरु एकजुट भएर प्रतिवादमा उत्रिनु पर्ने भन्दै राष्ट्रपतिलाई शिखण्डी र प्रधानमन्त्रीको चरित्रलाई भष्मासुरको रुपमा चित्रण गर्दै टिप्पणी गरेका हुन् ।
यस्तै प्रदेश १ नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक केदार कार्कीले संसद विघटन गर्ने हर्कत दोहोरिएकोप्रति टिप्पणी गर्दै निरंकुश राजा ज्ञानेन्द्रले पनि शुक्रबारका दिन राति नै यस्तै अप्रिय कदम चाल्ने गरेको स्मरण गरेका छन् ।
कार्कीले राष्ट्रपतिलाई महारानी बन्न खोजेको भन्दै तिखो र कटु प्रहार गरेका छन् । उनले भनेका छन् ‘राजा हरुले शुक्रबार राती नै रोज्दथे कुनै अप्रिय निर्णय गरेर जनता माथी शासन गर्न का लागि माहा महिमले पनि माहारानी हुने प्रयास गर्नु भो।’
प्रदेश १ सभामा प्रतिपक्ष दल जनता समाजवादी पार्टीका नेता जयराम यादवले राष्ट्रपतिले संविधान विपरित कदम चाल्नसक्ने अनुमान गर्दै शुक्रबार रातिनै फेसबुक स्टाटस लेख्दै प्रेमीको लागि प्रेमिकाले कुन हदसम्म सहयोग गर्नसक्छन् भनेर इतिहासको दृष्टान्त प्रस्तुत गरेका छन् । उनले लडाई जारी रहेको भन्दै गलत हर्कत विरुद्ध संघर्ष गर्ने आशय प्रकट गरेका छन् ।
उनी लेख्छन् ‘इतिहास साक्षी छ प्रेमी को लागि प्रेमिका र प्रेमिका को लागि प्रेमी आफ्नै लाई पनि सिध्याएका छन् । अहिले पनि अन्तिम लडाइँ जारी छ । ‘सारा देश एक तरफ जोरुका गुलाम एक तरफ’
सत्ताधारी दल नेकपा एमालेका नेताहरुले भने प्रधानमन्त्रीको कदल सही भएको बताइरहेका छन् । प्रदेश १ का आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मतकुमार कार्कीले देश निर्वाचनतर्फ गएको र सरकारले अब चुनाव अघि नै जनतालाई कोरोनाको खोप लगाएर चुनावको तयारीमा लाग्नुपर्ने भन्दै सरकारको कदमको समर्थन गरेका छन् ।
उनी भन्छन् ‘आखिर प्रतिनिधिसभाको केही छिटो (अर्लि) निर्वाचन तर्फ देश गयो। ०७८कार्तिक २६ र मंसिर ३ गते दुई चरणमा निर्वाचन हुने । अब राज्यले नोबल कोरोना भाईरस (कोभिड–१९) बिरुद्द संम्पुर्ण जनता लाई खोप लगाउनु पर्छ । जनताको स्वास्थ्य सुरक्षाको निम्ति सरकार निर्वाचन अघि नै यो काम सम्पन्न गरिसक्ने कार्य योजना साथ अघि बढने छ। सबैको जय होस ।’