काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले यसअघि नै विश्वासको मत लिन नसकेको कारण आफूले पुनः विश्वासको मत लिन नसक्ने अवस्था आएको कारण नयाँ सरकार गठनको लागि बाटो खोलिदिएको बताएका छन् ।
बालुवाटारमा आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रधानमन्त्री ओलीले विश्वासको मत लिन थाल्दा समय धेरै जाने, बजेट निर्माणमा अनिश्चितता थपिने र कोभिड नियन्त्रणमा असहजता पैदा हुने भएको कारण उक्त कदम चालेको बताएका हुन् । उनले आफूले विश्वासको मत लिँदा पनि मत नपाउने आफूलाई थाहा भएको बताए । ‘हार्ने कुरा थाहा हुँदाहुँदै समय गुजार्नु आवश्यक थिएन,’ उनले भने ।
सरकारले विश्वासको मत हासिल गर्ने अवस्था नरहेको र त्यो कर्मकाण्ड पूरा गरेर समय खेर फाल्नुभन्दा नयाँ सरकार गठनका लागि बाटो खोलिदिएको उनले प्रस्ट पारे । ‘यो नगरेर विश्वासको मत लिएको भए विश्वासको मत प्राप्त हुँदैनथ्यो भन्ने प्रस्ट छ,’ उनले भने, ‘फेरि जाने संविधानको धारा ७६ उपधारा ५ कै प्रक्रियामा हो ।’
धारा ७६ को उपधारा ५ मा जाने भइसकेपछि प्रधानमन्त्रीले मार्ग प्रशस्त गरिदिनु र सरकार गठनको बाटो खोलिदिनु समयको चापका हिसाबले उचितमात्र होइन अत्यावश्यक रहेको उनको भनाइ छ ।
आफ्नो यो कदम छलेर सरकार जोगाउन वा छलेर सरकार कब्जा गर्न केन्द्रित नरहेको उनले प्रस्ट पारे । उनले संसद विघटन हुनबाट जोगाउन आफूलाई सहयोग गरेर राष्ट्रिय सहमतिको सरकार गठन गर्न पनि दलहरुलाई आव्हान गरेका छन् ।