कांग्रेसको आकस्मिक बैठक, के छन् एजेण्डा ?

विराटनगर । प्रमुख प्रतिपक्ष दल नेपाली काग्रेंसले पार्टी पदाधिकारीको आकस्मिक बैठक बोलाएको छ । बैठक केही बेरपछि सुरु हुने बताइएको छ । बैठकमा पूर्वपदाधिकारी तथा केही केन्द्रीय सदस्यहरू सहभागी हुनेछन् ।

पछिल्लो विकसित राजनीतिक घटनाक्रमका सन्दर्भमा छलफल गर्न सभापति देउवाले आकस्मिक बैठक बोलाएका हुन् । राष्ट्रपतिले साँझ ५ बजेसम्म सरकार गठन गर्न दिएको समय र आगामी रणनीति बनाउन बैठक केन्द्रीत हुने पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

राष्ट्रपतिको पछिल्लो कदमप्रति कांग्रेसले गम्भीर असहमति प्रकट गरेको छ । उसले प्रधानमन्त्रीको कदम असंवैधानिक भन्दै विरोध जनाएको छ ।

यस्तै राष्ट्रपति संविधानअनुसार अगाडि नबढेकोले महाअभियोग लगाउनुपर्ने आवाज कांग्रेसभित्र उठेको छ। नयाँ सरकार बनाउन र राष्ट्रपतिविरूद्ध महाअभियोग लगाउन कांग्रेस नेता गगन थापाले माग गरेका छन्।

साथै वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रपतिबाटै संविधान मिच्ने काम भइरहेकोमा विरोध गरेका छन्।

राष्ट्रपति र प्रधानमन्त्री मिलेर संविधान फाल्ने षड्यन्त्र गरिरहेकोले लोकतन्त्र तथा संविधान रक्षाका लागि कांग्रेस अगाडि बढ्ने नेता पौडेल बताउँछन्।

कांग्रेसले राष्ट्रपतिविरूद्ध महाअभियोग, प्रधानमन्त्रीलाई अविश्वास प्रस्ताव, दलहरूको सहकार्यमा नयाँ सरकार गठनलगायतका विषय केन्द्रमा राखेर आज नेताहरूसँग छलफल गर्न लागेको बताइएको छ ।

शुक्रबार, ०७ जेठ, २०७८, बिहानको ०९:३१ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर