विराटनगर । नेपाली काँग्रेसले निर्वाचन आचारसंहिता उल्लंघन गरेकोमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई कार्वाहीको माग गर्दै निर्वाचन आयोगमा उजुरी दर्ता गरेको छ ।
काँग्रेस संसदीय दल कार्यसमितिको बुधबारको बैठकको निर्णय अनुसार बिहीबार विहान निर्वाचन आयोगमा काँग्रेसले उजुरी दर्ता गराएको हो ।
मौन अबधिमा निर्वाचन आचारसंहिता विपरित वक्तव्य दिने प्रधानमन्त्री ओली र शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठलाई कारबाहीका लागि निर्वाचन आयोगमा उजुरी दर्ता गराएको काँग्रेसले जनाएको छ । दुबै जनालाई कानून अनुसार निर्वाचन आयोगले कारबाही गर्नुपर्ने काँग्रेसको माग छ ।
प्रधानमन्त्री ओलीले बुधबार निर्वाचन आचारसंहिताविपरीत मौन अवधिमा राष्ट्रिय सभा उपनिर्वाचनका एमाले उम्मेदवार रामबहादुर थापा बादलका लागि मत मागेका थिए । यस्तै शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले पनि निर्वाचन आचारसंहिताविपरीत बुधबार साँझ राष्ट्रिय सभा उपनिर्वाचनमा एमाले उम्मेदवार थापाको पक्षमा अपिल जारी गरेका थिए ।
काँग्रेस संसदीय दलको कार्यालयका अधिकृत विजयेन्द्र वीर आलेले निर्वाचन आयोगले निर्वाचन आचारसंहिता, २०७२ को दफा ५ घ (३) र (५) तथा दफा ६ विपरित कार्य गर्नेलाई कार्वाहीको माग गरिएको छ ।