विराटनगर । कोरोनाको जोखिम बढेको भन्दै सरकारले स्वास्थ्य मापदण्ड पालना गर्न सार्वजनिक सूचना गरिरहेको छ । तर, सरकारी आग्रह लत्याएर मुख्यमन्त्री शेरधन राई भने हरेक दिन भीड जम्मा गरेर होली मनाइरहेका छन् ।
बुधबार उद्योग संगठनमा गएका मुख्यमन्त्री राईको टोलीले बिहीबार पनि दलबलसहित विराट व्यापार संघमा पुगेर होली खेलेको छ । मुख्यमन्त्रीसँगै प्रदेश सरसकारका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री जगदिश कुसियत पनि होलीमा रमेका छन् ।
संघीय सरकारको गृह मन्त्रालय र स्वास्थ्य मन्त्रालयले कोरोनको जोखिम बढेको भन्दै स्वास्थ्य सतर्कता अपनाउन, भिडभाड नगर्न र होली घरभित्रै बसेर मनाउन आग्रह गरिरहेको छ । जिल्ला सुरक्षा समितिको मंगलबार बसेको बैठकले पनि होलीमा भिडभाड नगर्न सबैलाई आग्रह गर्दै अटेरी गरेमा कार्वाही गर्ने निर्णय गरेको छ ।
जिल्लास्तरीय सीसीएमसीको बिहीबार बसेको बैठकले पनि यस पटकको होली घरभित्र मात्र मनाउन सबैलाई आह्वान गरेको छ । स्वास्थ्य मापदण्ड पुरा नगरेमा संक्रामक रोग ऐन २०२० अनुसार कार्वाही गर्ने निर्णय बैठकले गरेको छ ।
सुरक्षा समितिको बैठक र सीसीएमसीको निर्णय अनुसार प्रहरीले बजारमा माइकिङ गर्दै सार्वजनिक रुपमा भिड जम्मा गरेर होली नखेल्न आग्रह गर्दै घरभित्रै सुरक्षा मापदण्ड अपनाएर होली मनाउन आग्रह गरिरहेको छ । यसलाई उल्लंन गर्नेलाई कार्वाही गर्ने चेतवानीसहितको माइकिङ प्रहरीले गरिरहेको बेला प्रहरीकै सुरक्षा घेरामा मुख्यमन्त्रीले गृह मन्त्रालय, जिल्ला सुरक्षा समिति र जिल्ला स्तरीयर सीसीएमसीको खुलेआम उल्लंघन गरिरहेका छन् ।
मुख्यमन्त्री राईले बुधबार उद्योग संगठनमा पुगेर निर्धक्कसाथ होली मनाएका थिए । त्यसलाई उनले निरन्तरता दिएको जिल्ला प्रशासन कार्यालयले पनि आश्चार्य व्यक्त गरेको छ ।
प्रदेश सरकारकै सामाजिक विकास मन्त्रालयका अधिकारीहरुले मुख्यमन्त्री अटेरी बनेको प्रतिक्रिया दिएका छन् । ‘यी मुख्यमन्त्री अटेरी मात्रै होइनन्, कमन सेन्स पनि नभएका रहेछन्’, मन्त्रालयका एक अधिकारीले भने ‘सरकारले घरभित्रै होली सीमित गर्नु भनेका बेला आफू चाहिँ होली खेल्दै हिँड्नु लाजमर्दो हो ।’






प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।