शिलान्यासमै सीमित भयो विराटनगरको भ्युटावर

तत्कालीन सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित, प्रदेश १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्की, सामाजिक विकासमन्त्री जीवन घिमिरे र विराटनगरका प्रमुख भीम पराजुलीले तामझामसहित शिलान्यास गरेको भ्यु टावर नबन्ने निश्चित

विराटनगर । विराटनगरलाई पर्यटकीय स्थलको रुपमा विकास गर्दै लैजाने भन्दै तीन वर्ष अगाडि शिलान्यास भएको भ्युटावर शिलान्यासमै सीमित भएको छ ।

तत्कालीन सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित, प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमनत्री हिक्मतकुमार कार्की, सामाजिक विकासमन्त्री जीवन घिमिरे र विराटनगर महानगर प्रमुख भीम पराजुलीले तामझामसहित शिलान्यास गरेको भ्यु टावर नबन्ने निश्चित भएको हो ।

विराटनगर–३ मा ४ अर्बको लागतमा भ्यु टावर निर्माण गर्ने भन्दै शिलान्यास गरिएको थियो । १ बिघा ७ कठ्ठा क्षेत्रफलमा निर्माण हुने भ्यु टावर १ सय १० मिटर अग्लो हुने बताइएको थियो । विराटनगरलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न भन्दै निर्माण गर्न लागिएको भ्यु टावरमा राजवंशी समुदायको सङ्ग्रहालय, रिक्रिएसन सेन्टर, रेस्टुरेन्ट, प्रदर्शनी केन्द्र बनाउने भनिएको थियो । शिलान्यास भएको तीन वर्षपछि महानगरले भ्यु टावर निर्माण नहुने बताएको हो । विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले विमानस्थल कार्यालयको असहमति रहेको कारण भ्युटावर निर्माणको काम फिर्ता भएको बताउनुभयो । विमान उडान र अवतरणको रुट परेकोले भ्युटावर निर्माणको काम स्थगित गरिएको उहाँको भनाइ छ ।

विमानस्थललाई असर गर्ने भन्दै भ्यु टावर निर्माण प्रक्रिया रोकेर प्रदर्शनी स्थल, रिक्रिएसन सेन्टर बनाउने महानगरले जनाएको छ । भ्युटावर निर्माणमा नागरिक उड्डयन प्राधिकरणले त्यसबेलै असहमति जनाएको थियो ।

अन्तराष्ट्रिय मापदण्ड अनुसार बिमानस्थको टर्निङ प्वाईन्टमा पर्ने एक किलोमिटर दुरीभित्र ४५ मिटर भन्दा अग्ला कुनै पनि संरचना बनाउन नपाईनेमा त्यसलाई बेवास्ता गरेर भ्युटावर शिलान्यास भएको थियो । २०७५ कात्तिक १८ गते शिलान्यास गरिएको भ्युटावर निर्माण गर्न नहुने मत विराटनगर नागरिक उड्डयन कार्यालयका तत्कालिन प्रमुख टेकनाथ सिटौलाले राख्नुभएको थियो ।

शुक्रबार, १४ फागुन, २०७७, बिहानको ११:३२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर