मिलापत्र गर्न खोजेको बलात्कार प्रयासको घटना सार्वजनिक

विराटनगर । एक साता अगाडि मोरङको जहदा गाउँपालिका–१ मा ११ वर्षीया बालिकामाथि भएको बलात्कार प्रयासको घटना ‘गुपचुप’ राखेर मिलापत्र गर्न खोजेको अवस्थामा सार्वजनिक भएको छ ।

गाउँकै अगुवा र छरछिमेकीले पीडकसँग मिल्नुपर्ने दबाब दिएर गुपचुप राखिएको घटना एक सातापछि सार्वजनिक भएको हो ।

पीडित पक्षलाई आर्थिक प्रलोभन देखाएर गाउँमै घटना मिलाउने प्रयास गर्दै प्रहरीमा नजान दबाब रहेकोले एक सातापछि घटनाको जानकारी आएको मोरङ प्रहरीले जनाएको छ । बालिकामाथि बलात्कार प्रयास भएको जानकारीसहित पीडित पक्षले बिहीबार इलाका प्रहरी कार्यालय रानीमा किटानी जाहेरी दिएका छन् ।

घटनाका आरोपित ४५ वर्षीय राजेन्द्र सरवरिया फरार छन् । बालिकामाथि पटक÷पटक बलात्कारको प्रयास भएको जानकारीसहित सरवरीयाविरुद्ध प्रहरीमा किटानी जाहेरी परेको छ । बालिकामाथि फागुन ६ गते दिउँसो ४ बजेतिर बलात्कारको प्रयास भएको जाहेरीमा उल्लेख छ । सरवरीयाले बालिकालाई घरनजिकैको मकै बारीमा लगेर बलात्कार प्रयास गरेको पाइएको प्रहरीले जनाएको छ । फागुन ८ गते पनि आफूमाथि सरवरीयाले पुनः बलात्कार प्रयास गरेपछि बालिकाले घटनाबारे प्रहरीमा जानकारी दिएकी थिइन् ।

कपडा खोलिदिन थालेपछि आफू भागेर बलात्कृत हुनबाट बचेको बालिकाको भनाइ छ । घटनापछि गाउँकै अगुवाले मिलापत्र गर्न दबाब दिएकोले समयमा प्रहरी कार्यालयमा आउन नसकेको प्रहरीको भनाइ छ । पीडित पक्षलाई पैसा लिएर मिल्नुपर्छ भन्ने प्रस्ताव पनि राखेको पाइएको प्रहरीले जनाएको छ ।

प्रहरीले घटनालाई मिलाउने प्रयास गर्ने र पीडित पक्षलाई मिल्न दबाब दिनेहरूलाई पनि कारबाहीको दायरामा ल्याउने जनाएको छ । ोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले घटनाको अनुसन्धान सुरु गर्दै आरोपीको खोजी थालिएको बताउनुभयो । आमाको पहिल्यै मृत्यु भइसकेको र बुबा पनि ९ वर्षदेखि बेपत्ता रहेका कारण पीडित बालिका मावली हजुरआमाकोमा बस्दै आएको खुलेको छ ।

शुक्रबार, १४ फागुन, २०७७, बिहानको ११:२६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर