विराटनगर । सामान्य मजदुरी गर्दै जीविकोपार्जन गर्ने विराटनगर महानगरपालिका–३ गोग्राहा चौक (कन्या मार्ग)मा फुसको घरमा पुस्तौं बिताएका कालिचरण ४२ वर्षको उमेरमा घरबारविहीन बन्दैछन् ।
७२ वर्षीय बुवा पन्नालाल राजबंशीले बनाएको सानो फुसको घर अहिले टालीले छाएको अवस्थामा उनी घरबारविहिन हुने अवस्थामा पुगेका हुन् ।
टालीको घरमा दुःखसुख प्यारालाईसिसले थलिएका बुवासहित बस्दै आइरहेको कालिचरणको परिवार छिमेकीको कारण विस्थापित हुनपर्ने अवस्थामा पुगेको हो । विराटनगर–३ बस्ने वियनराज राजवंशीलगायत उनका परिवारले न्यायिक समितिमा गत माघ ७ गते आफूहरु बस्दै आइरहेको घर हटाइ पाउँ भन्ने फिराद हालेकोले आपूmहरुलाई उठिबास लगाउने षड्यन्त्र भएको पीडितको भनाइ छ ।
विराटनगर महानगरपालिकाको न्यायिक समितिले चैत मसान्तसम्ममा कुम्लोकुटुरो बोकेर घर छाड्न भनेको पीडितको दुखेसो छ । साँध जोडिएका जग्गाधनी विनयराज राजबंशीले विराटनगर महानगरपालिकाको न्यायिक समितिमा गत माघ ७ गते उजुरी हालेकोमा उपप्रमुख इन्दिरा कार्की नेतृत्वको न्यायीक समितिले जग्गा खाली गर्न निर्देशन दिएको हो ।
विराटनगर–३ का वडाध्यक्ष एवं न्यायिक समितिका सदस्य विनोद बस्नेतले सुकुमबासी भएको प्रमाणित भए कालिचरणको परिवारलाई महानगरपालिकाले निर्माण गरिरहेको जनता आवास कार्यक्रमअन्तर्गत घरमा स्थानान्तरण गर्ने बताउनुभएको छ । न्यायिक समितिले गरेको निर्णय चित्त नबुझेको अवस्थामा न्यायलयमा जान पाउने अधिकार प्रयोग गर्नसक्ने भन्दै उहाँले प्रमाणको आधारमा फैसला गरिएको दावी गर्नुभयो ।
कालिचरणले पत्रकार सम्मेलनमा बताएअनुसार उनीविरुद्ध उजुरी गर्ने विनयका काका बद्री राजवंशी सँधियार हुन् । ऐलानी जग्गासँग जोडिएको नम्बरीवाला जग्गाधनीले आफूलाई उठीबास लगाएर त्यो जग्गा भोगचलन गर्न खोजेको पीडितको भनाइ छ ।
सरकारले भूमिसम्बन्धी समस्या समाधान आयोगमार्फत भूमिहीन दलित, भूमिहीन सुकुमबासी र अव्यवस्थित बसोबासीहरुलाई लालपूर्जा वितरण गर्ने कार्यक्रम अगाडि सारेको छ । यहिबेला भूमिहिन परिवारले न्यायको याचना गरिरहेको छ ।