विराटनगर । प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमको विपक्षमा अदालतले फैसला गरेसँगै राजनीतिक सरगर्मी फेरि तातेको छ ।
गत पुस ५ गते प्रधानमन्त्रीले गरेको संसद विघटनको निर्णयलाई सर्वोच्च अदालतले फागुन ११ अर्थात् हिंजो खारेज गरिदिएको थियो । सर्वोच्चको यो निर्णय आएसँगै नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को ओली पक्षले स्थायी समितिको बैठक बोलाएको छ । यस्तै प्रचण्ड–नेपाल पक्षले भने संसदीय दलको बैठक आव्हान गरेको छ ।
प्रचण्ड–नेपाल पक्षले प्रतिनिधि सभाका सांसदीय दलको बैठक आज साँझ ४ बजेका लागि डाकिएको छ। यस्तै ओली समूहले भने आज बिहान ११ बजे स्थायी कमिटी बैठक राखेको छ ।
सर्वोच्च अदालतले संसद पुनर्स्थापना गर्ने निर्णय गरेपछि अब कसरी अघि बढ्ने भन्नेबारे छलफल गर्न दुवैपक्षले बैठक बोलाएका हुन् ।
प्रचण्ड–नेपाल समूहले यसअघि नै प्रधानमन्त्री केपी शर्मा ओलीविरूद्ध संसद सचिवालयमा अविश्वास प्रस्ताव दर्ता गरेको थियो ।