विराटनगर । प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णयलाई असंवैधानिक ठहर गर्दै सर्वोच्च अदालतले मंगलबार विघटन गरेसँगै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र समाजवादी पार्टीका विद्यार्थीहरूले सडकमा निस्किएर खुसियाली मनाएका छन् ।
उनीहरूले मंगलबार साझ विराटनगरको विभिन्न चोकहरूमा दिप प्रज्जवल गर्दै खुसियाली मनाएका हुन् । सर्वोच्चको निर्णयलाई ऐतिहासिक भन्दै उनीहरुले विराटनगरको ट्राफिक चौक, महेन्द्रचौक, बरगाछी र देवकोटा चौक लगायतको विभिन्न चौकहरूमा निस्किएर खुसियाली मनाएका हुन् ।
सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको निर्णय बदर गरिदिएको छ । मंगलबार सर्वोच्चले प्रधानमन्त्रीको सिफारिसमा भएको प्रतिनिधिसभा विघटन असंवैधानिक भएको ठहर गर्दै संसद बैठक १३ दिनभित्र बोलाउन आदेश दिएको हो ।
प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले ५ पुसमा प्रतिनिधि विघटन गरेकी थिइन् । ओलीको कदम असंवैधानिक रहेको भन्दै सर्वोच्चमा अलग–अलग १३ वटा रिट निवेदन दर्ता भएको थियो । ती सबै रिटलाई एकसाथ हेर्दै डेढ महिनादेखि संवैधानिक इजलासमा सुनुवाई हुँदै आएको थियो ।