अदालतको फैसलाको सर्वत्र स्वागत

प्रचण्डले फैसलाले नेपाली जनताको जित भएका बताए भने सभामुख अग्नि सापकोटाले अदालतप्रति जनताको विश्वास बढेको प्रतिक्रिया दिएका छन्

विराटनगर । पुस ५ गते संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम सर्वोच्च अदालतले बदर गरेसँगै उक्त फैसलाको सर्वत्र स्वागत भएको छ ।

अदालतको फैसलापछि विभिन्न सामाजिक संजालमा टिप्पणी लेख्दै राजनीतिक दलका नेता तथा नागरिक समाजले फैसला स्वागतयोग्य भएको बताएका हुन् । अदालतको फैसलाले देश र संविधानभन्दा माथि कोही पनि व्यक्ति नहुने प्रमाणित भएको बताएका छन् ।

सभामुख अग्नि सापकोटाले अदालतप्रति जनताको विश्वास बढेको प्रतिक्रिया दिएका छन् । सर्वोच्च अदालतले संसद पुनःस्थापनाको पक्षमा फैसला गरेपछि सभामुख सापकोटाले पहिलो प्रतिक्रिया दिँदै सो कुरा बताएका हुन् ।

यस्तै नेकपा अध्यक्ष प्रचण्डले सर्वोच्च अदालतको फैसलाको स्वागत गरेका छन् । प्रचण्डले अदालतको फैसलाले नेपाली जनताको जित भएका बताए ।

नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड माधव समूहका नेता वर्षमान पुनले संसद विघटन बदर गर्ने सर्वोच्च अदालतले ऐतिहासिक फैसला सुनाएको बताए ।उनले अदालतले जनभावना अनुसार फैसला सुनाएर लोकतन्त्रको रक्षा गरेको प्रतिक्रिया दिए ।

यस्तै नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजालले संसद पुनर्स्थापना गर्ने फैसलाले अदालतप्रति विश्वास अझ गहिरो भएको बताउँदै संविधान नै उल्टाउन खोज्ने प्रधानमन्त्रीले राजीनामा दिनुपर्नेमा जोड दिएका छन् ।

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई सर्वोच्च अदालतले बदर गरिदिएर अधिनायकवादलाई गम्भीर ढंगले पराजित गरिदिएको बताएका छन् । सर्वोच्चको फैसलाले अधिनायकवादले गम्भीर ढंगले पराजय व्यहोरेको पनि उनले बताए ।

मङ्गलबार, ११ फागुन, २०७७, साँझको ०६:३८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर