शिक्षक श्रेष्ठको हत्या प्रकरण : विप्लब समूह नेता जेल चलान

विराटनगर । मोरङको मिक्लाजुङ गाउँपालिकाका शिक्षक राजेन्द्र श्रेष्ठको हत्यामा सलंग्न रहेको आरोपमा पक्राउ परेका नेत्रविक्रम चन्द विप्लप समूहका मोरङ इन्चार्ज डिबी सिलवाल भनिने ३२ वर्षीय धनबहादुर विक पुर्पक्षको लागि थुनामा गएका छन् ।

श्रेष्ठको अपहरणपछि हत्या गरेको आरोपमा पक्राउ परेका बिकलाई मोरङ जिल्ला अदालतका न्यायाधीश कपिलमणाी गौतमको इजालाशले सोमबार पुर्पक्षको लागि थुनामा राख्न आदेश दिएको हो ।

अदालतको आदेशपछि बिक विराटनगर कारागार चलान भएको मोरङ अदालतका सूचना अधिकारी राजेन्द्रप्रसाद धमालले जानकारी दिनुभयो । पक्राउ परेका धमला र फरार भएका नेत्रविक्रम चन्द विप्लपसहित ३५ जनालाई प्रतिवादी बनाएर जिल्ला सरकारी वकिलको कार्यालयले गत सोमबार मोरङ अदलातमा अपहरण तथा कर्तब्य ज्यान मुद्दा दर्ता गराएको थियो ।

घटनामा ४२ जना संलग्न रहेको मोरङ प्रहरीको अनुसन्धानबाट खुलेको छ । ४२ जनामध्ये ३५ जनालाई सरकारी वकिलको कार्यालये अदालतमा अभियोग दर्ता गराएको थियो भने ७ जनाको बतन नखुलेको कारण उनीहरूलाई प्रतिवादी बनाएको छैन । बतन नखुलेका ७ जना प्रतिवादीको हकमा सरकारी वकिलको कार्यालयले पुरक अभियोग लैजाने तयारी गरेको सहायक जिल्ला न्यायाधीवक्ता मुकुन्द रेग्मीले जानकारी दिनुभयो ।

संखुवासभाको मादी नगरपालिका–४ ओखरबोटे घर भएका विक व्यापारीसँग चन्दा लिन जाँदै गरेको अवस्थामा मोरङको बूढीगंगा गाउँपालिका–४ बाट गत माघ ७ गते हतियारसहित पक्राउ परेका थिए । मोरङ प्रहरीले उनको साथबाट २४ प ४००५ नम्बरको मोटरसाइकल, एउटा सेमी अटोमेटिक पेस्तोल, तीन राउण्ड गोली, म्यागजिन, विभिन्न मोबाइलहरु, सिमकार्ड, सवारी चालक अनुमति पत्र बरामद गरेको थियो ।

विकविरुद्ध प्रहरीले हातहतियार खरखजना र अपहरण तथा कर्तव्य ज्यान मुद्दामा अनुसन्धान अघि बढाएको थियो । बिक यसअघि हातहतियार खरबजना मुद्दामा पुर्पक्षका थुनामा बसिसकेका व्यक्ति हुन् । हातहतियार खरखरजना मुद्दामा उनी एक्लैलाई प्रतिवादी बनाइएको भएपनि अपहरण तथा कर्तव्य ज्यान मुद्दामा भने विकसहित ‘विप्लव’ समूहका महासचिव नेत्रविक्रम चन्द, पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’समेत गरेर ३५ जनालाई प्रतिवादी बनाइएको छ ।

सुराकीको आरोप लगाउँदै घरबाटै नियन्त्रणमा लिएर अपहरणपछि ‘विप्लव’ समूहले शिक्षक श्रेष्ठको गत मंसिर २३ गते हत्या गरेको अवस्थमा घरदेखि नजिकको जंगलमा शव भेटिएको थियो । मिक्लाजुङ गाउँपालिका– १ स्थित सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक ५३ वर्षीय श्रेष्ठको घाँटी रेटेर विभत्स तरिकाले हत्या गरिएपछि ‘विप्लव’ समूहका मेची–कोसी ब्यूरो इन्चार्ज प्रतापले विज्ञप्ति जारी गरेर हत्याको जिम्मा लिएका थिए ।

मुद्दाका अभियुक्तमध्ये विकबाहेक हत्याको जिम्मा लिने प्रतापसहित ‘विप्लव’ समूहका महासचिव चन्द, प्रवक्ता विश्वकर्मालगायत सबै फरार छन् । फरार भएका प्रतिवादीहरूमा सन्तोष बुढा मगर, खड्गबहादुर विश्वकर्मा, दिपक चलाउने, प्रताप भन्ने थमनसिंह राई, शैलेस भन्ने चन्द्रबहादुर बुढाथोकी, योग भन्ने सञ्जय राई, विवश भन्ने पुष्पलाल चौलागाई, दर्शन भन्ने नविन राई, दर्शन थापा भन्ने विशाल मगर, आकाश भन्ने माधव गौतम छन् । यस्तै उत्तर कुमार राई भन्ने युवराज राई, भिम भन्ने कुमार राई, संजिव मगर, ङवाङनुरु भन्ने पेम्बा शेर्पा, अमृत सागर भन्ने योगेन्द्र बस्नेत, शिलु भन्ने उमा भुजेल, सुमनसिंह पौडेल, बालकुमार राई भन्ने राकेश राई, चाम्स भन्ने मिलन राई, नाती भन्ने बासन राई (प्रविन राई), अखिल भन्ने मनोज भुजेल, लुङ्गा भन्ने सुदम लुङखिम्बा (लिम्बु) र उमेश खत्री (अधिकारी)लाई प्रतिवादी बनाइएको छ ।

प्रहरीले संग्राम भन्ने पूर्णबहादुर थलङ (लिम्बु), आशिष भन्ने बिक्रम राई, बिर्जुम भन्ने श्रीमान राई, विशाल लुङखिम्वा लिम्वु, संगम आङदाम्बे, अनुस्का राई, हेतु साउदेन लिम्बु, मौषम भन्ने जितमान राई, अविनाश भन्ने डम्बर मगर र महाविर भन्ने जितेन्द्र महरासमेतलाई फरार प्रतिवादी बनाएको छ । ‘वारदातमा संलग्न रहेका कञ्चन भन्ने धर्मेन्द्र बास्तोला, सेसेहाङ भन्ने सन्तोष लिम्बू, जितबहादुर बस्नेत, विजय सिलवाल भन्ने अमृत खत्री, किम भन्ने प्रयास सुनुवार, आक्रोश कालिकोटे र हिमाल तामाङको एकीन नाम थर वतन नखुलेकोले उनीहरु प्रतिवादी बनेका छैनन् ।

मङ्गलबार, ११ फागुन, २०७७, बिहानको १०:३७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर