विराटनगर । आफूनिकटको बैठकमा संसद विघटनलाई प्रतिगामी कदम भनेको नेकपा स्थायी समिति सदस्य तथा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले अन्ततः त्यहि प्रतिगामी कदमको साथ दिने भएका छन् ।
आफूनिटक सबै नेताहरु पार्टीको संस्थापन खेमा (प्रचण्ड–नेपाल) पक्षमा खुलेपनि कतै नखुलेका थापा गृहमन्त्री पद सुरक्षित राख्दै प्रधानमन्त्री केपी ओली समूहमा रहने तय गरेका हुन् ।
पार्टीका दुबै अध्यक्ष प्रचण्ड र केपी ओलीसँग छलफलमा रहेर केहि दिनपछि निर्णय गर्ने बताएका थापा संभवत बिहीबार बस्ने ओली समूहको बैठकमा सहभागी हुनेछन् । नेकपाको लामो विवादमा कहिले तठस्थ, कहिले प्रचण्डको पक्षमा र कहिले ओलीको पक्षमा देखिँदै आएका उनलाई केन्द्रीय समितिका करिब ४० सदस्यमध्ये एक जनाले मात्र साथ दिने बुझिएको छ ।
बादल समूहका स्थायी समिति सदस्यहरु पम्फा भुषाल र देव गुरुङ प्रचण्ड समूहमा सक्रिय रहेका छन् भने उनी निकट सबै केन्द्रीय सदस्यहरु यसअघि बबरमहलमा बसेको केन्द्रीय समिति बैठकमा सहभागी भएका छन् । थापालाई साथ दिँदै आएका उनका सल्लाहकार सुर्य सुवेदी पनि अन्तिम समयमा प्रचण्ड समूहमा आउने भएका छन् । सुवेदीकी श्रीमति ज्ञानु सुवेदी यसअघि नै प्रचण्ड समूहको बैठकमा सहभागी भइसकेकी छन् ।
आपूmनिकटसँगको छलफलमा ओलीको कदम प्रतिगामी रहेकोले विचार मिल्नेसँग सहकार्य बताएका थापालाई ओली पक्षम नजान निकटहरुले दबाब दिएका थिए । उनीहरुले प्रचण्ड–नेपाल समूह अग्रगामी रहेको र उनीहरुले उठाएको विषय नै सहि भएकोले साथ दिन आग्रह गरेका थिए । तर, उनलाई फर्काउन पहल गर्नेहरु बुधबारबाट निरास भएका छन् ।
प्रचण्ड समूहमा लाग्दा गृहमन्त्री पनि छोड्नुपर्ने र भविष्य पनि निश्चित नभएको भन्दै उनले ओली समूहमै रहने जनाउ आफू निकट नेताहरुलाई दिएका छन् । ‘प्रचण्डसँग जाँदा गृहमन्त्री छाड्नुपर्छ, भविष्य पनि निश्चित छैन’ उनको भनाइ उदृत गर्दै उनीनिकट एक केन्द्रीय सदस्यले भने, ‘ओलीसँग रहँदा गृहमन्त्री पनि सुरक्षित हुने र पार्टीमा पनि दोस्रो बरियता पाउने भएकोले उतै रहन्छु ।’
सरकारमा रहेकोले ओलीको साथ दिएको भएपनि ओली प्रतिक्रान्तिको बाटोमा रहेकोले अन्तिम अवस्थामा उनलाई साथ नदिने थापाको भनाइ रहँदै आएको थियो । तर, बुधबार ओलीलाई भेटेपछि उनी गृहमन्त्री सुरक्षित राखेर ओलीको साथमा रहने निश्चित गरेका हुन् । उनले ओलीसँग सहअध्यक्षको माग गरेको स्रोतले जनाएको छ ।
वादल ओलीसँग रहँदा पूर्वमाओवादीबाट उनलाई साथ दिने एक मात्र केन्द्रीय सदस्य दावा तामाङ बनेका छन् । त्यसबाहेक उनीनिकट सबै नेताहरु प्रचण्डसँगै रहेका छन् । त्यसो त ओलीलाई स्थायी समितिमा रहेका पूर्वमाओवादीका लेखराज भट्ट र टोपबहादुर रायमाझीले पनि समर्थन गरेका छन् ।