उर्लाबारी । मंसिर २३ गते विहान हल्ला चल्यो नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्व नेपाल कम्यूनिष्ट पार्टीका कार्यकर्ताले शिक्षकलाई गोली प्रहार गरी हत्या ।
हल्ला चलेको केही समयमा विभिन्न सञ्चार माध्यमहरुले जिल्ला प्रहरी कार्यालय मोरङलाई स्रोत मान्दै शिक्षकको गोली प्रहार गरी हत्या शिर्षकमा समाचार सम्प्रेषण गरे । तर, प्रहरीले पनि त्यो घटना स्थलमा पुगेर नभई सुनेकै आधारमा सञ्चारमाध्यमहरुलाई घटनाको विषयमा जानकारी दिएको थियो । सरस्वति आधारभूत विद्यालयका प्रधानाध्यापक राजेन्द्रकुमार श्रेष्ठको हत्याको घटना सनसनीपूर्ण भइसकेको थियो ।
उक्त खबर सार्वजनिक भएपछि हामी घटना स्थलतर्फ गयौं । उर्लाबारीबाट मिक्लाजुङको मधुमल्ला हुँदै टाँडी हुँदै मिक्लाजुङ गाउँपालिका वडा नं. १ को आइतबारेसम्म पुयौं । विहान ११ः३० बजे हामी मधुमल्लाबाट मोटसाइकलमा हिँडेका थियौं । हामी १२ः१५ बजे रमितेको आइतबारे पुग्यो । त्यतिबेलासम्म इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक उद्धव पोखरेलको टोली आइतबारे पुगिसकेको रहेछ । हामी त्यहाँ पुग्दा प्रहरी टोली तथा स्थानीय जनप्रतिनिधिहरु घटना स्थलतर्फ जाने तरखर गर्दै थिए । विप्लब माओवादीको परेडस्थल भएकाले त्यसतर्फ जानु जोखिम रहेको आइतबारेमा कुराकानी भइरहेको थियो ।
हामी भने मोटसाइकलमा घटना स्थलतर्फ अघि बढ्यौं । अत्यन्तै कठिन सडकलाई छिचोल्दै हामी भण्डै दिउँसो २ बजे मिक्लाजुङ–१ बर्खे चौक पुग्यौं । त्यहाँ स्थानीयबासीहरु बसेर घटनाको कुरा गर्दै थिए । हामी पुग्न साथ एक युवाले भने सरहरु दुई जनामात्रै आउनु भएको ? जोखिम छ है । त्यसपछि हामीले प्रहरी नभई पत्रकार भएको बतायौं ।
त्यसपछि घटना स्थलका बारेमा सोधिखोजी गर्दा स्थानीय कोही जान चाहेनन् । त्यसैमा स्थानीय गोविन्द श्रेष्ठ र बीरबहादुर राईलाई घटनास्थल देखाउन हामीले अनुरोध गरेपछि उनीहरु राजी भए । त्यसपछि हामी बर्खे चौकबाट करिब १ किलोमिटर भित्र देउढुंगे जंगलतर्फ पुग्यो । त्यहाँ राजेन्द्र सरले प्रयोग गर्ने सादा मोबाइल, टोपी र चप्पल देखियो । सोही स्थान नजिक एउटा लौरो र रगत पनि देखिन्थ्यो । सो ठाउँमा निकै घम्साघम्सी भएको प्रष्टै देखिन्थ्यो । त्यसको करिब १ सय मिटर तल श्रेष्ठको शब देखियो । उनको घाँटीको रुद्र घण्टीमा धारिलो हतियार प्रयोग गरिएको देखिन्थ्यो भने दुबै हात बाँधिएको थियो ।
सोही स्थानमा अर्को लौरो पनि थियो । श्रेष्ठलाई चरम यातना दिएर विभत्स तरिकाले हत्या गरेको कुरा प्रष्टै देखिन्थ्यो । हामी पुगेको आधा घण्टापछि मिक्लाजुङ वडा नं. १ का वडाध्यक्ष नरबहादुर राई र शिक्षक कविन्द्र राई घटना स्थलमा पुग्नु भएको थियो । त्यसपछि घटना स्थलबाट वडाध्यक्षसहित हामी हत्या गरिएका श्रेष्ठको घरमा तर्फ लाग्यौं । टिनको छानो र केही भाग सिमेन्ट तथा बाटो लगाइएको श्रेष्ठको घर वडाध्यक्ष राईले लिएर पुगे । घर पुग्दा सुनसान थियो ।
त्यसको केही बेरमा श्रेष्ठकी श्रीमति धनमाया श्रेष्ठ आईपुगिन् । त्यसक्रममा वडाध्यक्ष राईले घटनाका बारेमा जानकारी लिए । धनमायाले मंसिर २२ गते रातिसमेत आफु साग टिप्न जाँदा दुई जना घर आसपासका क्षेत्रमा आएको बताइन् । धनमायालाई देखेपछि ती दुई जना भागेका थिए । धनमायाले खासै उनीहरुलाई चासो नदिएको बताइन् । त्यसको भोलीपल्ट आफू बिहानै घरबाट निस्किएर बाख्रालाई घाँस पानी दिन गएको बेला ६/७ जनाको समूहमा आएका ब्यक्तिहरुले विहान ७ बजे श्रीमान राजेन्द्रलाई जंगलतर्फ लगेको खबर गाउँलेबाट सुनिन् । उनी घर आइपुग्दा त श्रीमानको हत्या भइसकेको रहेछ ।
निकै भाबुक अवस्थामा रहेकी धनमायाले गत असार महिनामा १० हजार रुपैयाँ चन्दा माग गरेको थाहा भएको बताइन् । त्यसक्रममा राजेन्द्रले ५ हजार रुपैयाँ मात्रै रहेको बताएपछि त्यो लिन इन्कार गर्दै विप्लब कार्यकर्ता गएका थिए । उनीहरु बीचमा पनि पटक पटक आएर सब्जी तथा खसी बाख्रा माग्ने गरेको उनले सुनाइन् । केही दिनअघि पनि सरहरु बाहिरबाट आउँदै हुनुहुन्छ बाख्रा दिनु पर्छ है भनेको धनमायाले बताइन् । त्यसक्रममा बाख्रा चराउन लगिएको र घर फर्किएपछि दिने राजेन्द्रले बताएको धनमायाको भनाई छ । त्यसपछि उनीहरु रिसाएर गएको थिए ।
त्यसको केही दिनमै राजेन्द्रलाई घरबाटै हात बाँधेर जंगलमा लगेर विभत्स हत्या गरिएको धनमायाले बताइन् । त्यसैक्रममा प्रहरीसहितको टोली घटना स्थलमा पुग्यो । प्रहरी पुग्दा झण्डै दिउँसोको तीन बजेको थियो । प्रहरी निरीक्षक पोखरेलसहित जनपथ र सशस्त्र ट्याक्टरमा घटना स्थल पुगेका थिए । प्रहरीले करिब ५ बजे श्रेष्ठको शव उठाएर पोष्टमार्टमका लागि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगेको थियो । पोष्टमार्टम गरी मंसिर २४ गते राती शब ल्याइएको थियो । शबलाई मिक्लाजुङ–२ रचनामा राखेर मंसिर २५ गते मिक्लाजुङ–७ नुनसरी खोलामा हिन्दु पराम्पराअनुसार अन्तेष्टी गरिएको छ ।
राजेन्द्र सरले भनेका थिए, मालदाई साथीहरुले लगे है
हामीलाई घटना स्थलमा पु¥याएका गोविन्द श्रेष्ठलाई राजेन्द्रले माल दाई साथीहरुले लगे है भनेका थिए । छिमेकी गोविन्दले किन लगे रे त खसी किन्न ? भनेर सोधेका थिए । त्यसमा राजेन्द्रले खोई हात साथ बाँधेको छ किन हो भनेर उत्तर दिएका थिए । त्यसपछि गोविन्द घरबाट निस्केर मेरो भाईलाई किन नलगेको भनेर सोध्दा अनुसन्धान गर्नु छ भन्दै जंगलतर्फ लगेका थिए । त्यसपछि गोविन्दले गाउँलेलाई खबर गरेका थिए । एक्लै जानु पनि डरमर्दो भएपनि गाउँलेहरु भेला भई राजेन्द्र सरको खोजी कार्य गरेका सुरु गरेका थिए । गाउँलेहरु भेला भई खोजी गर्दा करिब ८ बजे विभत्स तरिकाले हत्या गरेको अवस्थामा भेटिएको स्थानीय बीरबहादुर राईले बताए ।