विप्लबका लडाकु हतियारसहित पक्राउ

विराटनगर । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेकपाका एक लडाकुलाई प्रहरीले मोरङको उर्लाबारीबाट हतियारसहित पक्राउ गरेको छ ।

ताप्लेजुङको फक्ताङ्लुङ् गाउँपालिका–२ घर भएका ३२ वर्षीय पेम्बा साङ्गे शेर्पालाई पक्राउ गरेको मोरङ प्रहरीले जनाएको छ ।

शेर्पालाई उर्लाबारी नगरपालिका–६ तरुण चोकस्थित राधिका माध्यमिक विद्यालय नजिकबाट शनिबार साँझ ७ बजेतिर पक्राउ गरिएको मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले जानकारी दिनुभयो । पक्राउ गरेर हिरासतमा लिइएका शेर्पा ‘विप्लव’ समूहको ४ नम्बर कम्पनीका सेक्सन कमान्डर भएको प्रहरीको दावी छ ।

मोरङको मिक्लाजुङ गाउँपालिका क्षेत्रमा बसेर लामो समयदेखि ‘विप्लव’ समूहको गतिविधी सञ्चालन गरिरहेको प्रहरीले जनाएको छ । पक्राउ परेका शेर्पाको साथबाट मेड इन यूएसए लेखिएको एउटा पेस्तोल, म्यागजिन र तीन राउण्ड गोली बरामद भएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका व्यक्ति ‘विप्लव’ समूहको सैन्य लडाकु र सेक्सन कमान्डर रहेको खुलेको मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले जानकारी दिनुभयो । शेर्पाविरुद्ध थप अनुसन्धान र कारबाही अघि बढाउन प्रहरीले आइतबार हातहतियार खरखजना मुद्दामा म्याद थप गर्ने तयारी गरिरहेको छ ।

आइतबार, ०७ मंसिर, २०७७, साँझको ०७:३५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर