उर्लाबारी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) उर्लाबारी नगर कमिटीले उर्लाबारी–५ का मुक्तिनाथ दाहालको आत्महत्या घटनाको विषयमा असोज २० गते भएको सहमतिलाई तत्काल कार्यान्वयन गर्न माग गरेको छ ।
मदन भण्डारी स्मृति प्रतिष्ठान नेपालले झापाको दमक नगरपालिका–४ ताराबारीमा सञ्चालन गरेको बहुप्राविधिक शिक्षालयमा कार्यरत लेखा तथा प्रशासन अधिकृत, एवम् नेकपा उर्लाबारी नगर कमिटी सदस्य दाहालले गत असोज १९ गते शिक्षालयको कक्षा कोठाभित्रै आत्महत्य गरेका थिए ।
पार्टीको वडा नं. ५ का इन्चार्जसमेत रहेका दाहालले गरेको आत्महत्याका विषयमा असोज २० गते पार्टीका केन्द्रीय तथा जिल्ला नेता प्रतिष्ठानका अध्यक्ष गुरुप्रसाद बरालसहित पदाधिकारी, स्थानीय सरकार, प्रदेश सरकारका प्रतिनिधि, नागरिक समाजका साथै पिडीत परिवार समेत बसेर गरिएको सहमति तत्काल कार्यान्वयन गर्न नेकपा उर्लाबारीले माग गरेको हो । यस्तै नेकपा उर्लाबारीले उक्त घटनाको सत्य तथ्य पत्ता लगाई पीडितलाई न्याय र दोषीमाथि कारबाही गर्नका लागि विशेषज्ञसहितको उच्चस्तरीय छानबिन समिति बनाउन पनि सरकारसँग माग गरेको छ ।
घटनाका विषयमा अराजक क्रियाकलाप र तोडफोडमा नउत्रिन पार्टी सदस्य र भातृ संगठनहरुलाई नेकपाले आह्वानसमेत गरेको छ ।