विराटनगर । विराटनगर विमानस्थलको स्तरोन्नतीको लागि तीन तहका सरकारबीच समझदारी पत्रमा हस्ताक्षर भएकोप्रति नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विराटनगर महानगर कमिटीले स्वागत गरेको छ ।
अन्तर्राष्ट्रिय विमानस्थलका रुपमा विकास र विस्तार गर्न भएको कदमप्रति नेकपा महानगर कमिटीले खुसि व्यक्त गरेको हो ।
महानगर कमिटी अध्यक्ष सागर थापा र सचिव हेम कार्कीले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै तीनै तहका सरकारलाई धन्यवाद दिनुभएको छ । ‘विराटनगर विमानस्थललाई अन्तराष्ट्रिय स्तरमा स्तरोन्नति गनुपर्ने हाम्रो पार्टीको लामो समयदेखिको माग र प्रदेशवासीको सरोकार सम्वोधन गर्ने दिशामा भएको यो ऐतिहासिक समझदारीप्रति हाम्रो पार्टी खुसी व्यक्त गर्दछ, विज्ञप्तिमा उल्लेख छ ।
संघीय सरकारको ५०, प्रदेश सरकारको ४० र विराटनगर महानगरपालिकाको १० प्रतिशत लागत साझेदारीले अत्यधुनिक अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्पन्न हुने नेकपा विराटनगर महानगर कमिटीले विश्वास ब्यक्त गरेको छ । पर्यटनको प्रचुर सम्भावना रहेको प्रदेश १ मा बन्ने अन्तर्राष्ट्रिय विमानस्थलले यस क्षेत्रको पर्यटनको विकास र प्रवद्र्धन गर्न ऐतिहासिक भूमिका खेल्ने भन्दै विज्ञप्तिमा यहाँका पर्यटन व्यवसायी, उद्योगी र व्यापारीहरुलाई समेत उत्साहित बनाएको उल्लेख छ । विमानस्थलको स्तरोन्नतीले प्रदेशकै आर्थिक क्षेत्रलाई थप बलियो बनाउने नेकपाले जनाएको छ ।
अन्तर्राष्ट्रिय विमानस्थल सबैको सरोकार र चासोको विषय भएको भन्दै महानगर कमिटीले यो परियोजनालाई सहजरुपमा अगाडि बढाउने दायित्व सवैले लिनुपर्नेमा जोड दिएको छ । सबै राजनीतिक दल, नागरिक समाज र सरोकारवाला पक्षहरुबीचको समन्वयबाट परियोजना अघि बढ्ने विश्वास व्यक्त गर्दै विमानस्थल विस्तारका क्रममा जग्गा अधिग्रहणका बेला हुनसक्ने नाजायज चलखेलप्रति सचेत हुन सबैसँग अपिलसमेत गरेको छ ।