भोजपुर र तेह्रथुममा नेराकस पुनर्गठन

विराटनगर । नेपाल राष्ट्रिय कर्मचारी संगठन, निजामती जिल्ला समिति भोजपुरको पुनर्गठन भएको छ ।

नरेश राईको अध्यक्षतामा पुनर्गठित १९ सदस्यीय समितिको उपाध्यक्षमा श्रीनारायण राय यादव, सचिवमा सजत भुजेल, सहसचिवमा विश्वनाथ बैठा र कोषाध्यक्ष रामकुमार चौधरी रहेको संगठनले जनाएको छ ।

शनिबार भएको भेलाले २५ सदस्यीय जिल्ला निर्वाचन परिचालन मूल समितिको पनि घोषणा गरेको छ । भेलाले कर्मचारीको आधिकारिक ट्रेड युनियनको आगामी निर्वाचनमा उचित सेवा सुविधा र पेशागत अधिकारसहितको सुशासनयुक्त निजामती प्रशासनको स्थापना गर्न र आम कर्मचारीहरुको बृत्ति विकासको सुनिश्चितताको लागि ट्रेड युनियन आन्दोलनलाई मुखरित गर्न नेपाल राष्ट्रिय कर्मचारी संगठन, निजामतीमा मतदान गर्न आम कर्मचारीहरुलाई अपील गरेको छ ।

विखण्डनमा क्षय र एकतामा शक्ति हुने भन्दै आसन्न निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनको निर्वाचनमा प्रगतिशील शक्तिहरुबीचको एकताका लागि विशेष पहल गर्न पनि भेलाले आग्रह गरेको छ । विशेष अधिवेशनको माध्यमबाट भएपनि निर्वाचन अगावै विभेदरहित र कर्मचारीमैत्री संघीय निजामती सेवा ऐन, प्रदेश निजामति सेवा ऐन र स्थानीय सेवा ऐन जारी गर्ने परिस्थिति निर्माण गर्न नेपाल सरकारसँग भेलाले माग गरेको छ ।

शनिबार नै तेह्रथुम जिल्लामा पनि जिल्लामा रामप्रसाद सुवेदीको अध्यक्षतामा १३ सदस्यीय जिल्ला समितिको पुनर्गठन भएको संगठनका प्रदेश समिति सहसचिब रेवती ढुंगानाले जानकारी दिनुभयो । समितिको उपाध्यक्षमा डम्बर खड्का, सचिवमा प्रकाश लकान्द्री, सहसचिवमा खगेन्द्र संग्रौला र कोषाध्यक्षमा विष्णु लिम्बू रहनुभएको छ ।

बैठकले आगामी निर्वाचनमा जीतको नतिजा हासिल गर्न संगठनका नेता तथा कार्यकर्ताहरुको कार्यविभाजनसहितका चुनावी योजनाहरु तय गरेको छ । साथै, लोकसेवा आयोगकै परीक्षाको ढोकाबाट सेवा प्रवेश गरेका र निजामती किताबखानामै सिटरोल दर्ता भएका स्वास्थ्य सेवा र स्थानीय तहका कर्मचारीलाई पनि मतदानको अधिकारसहितको निर्वाचनको लागि नेपाल सरकारसँग अनुरोध गरेको छ ।

उता उदयपुरमा पनि नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामती उदयपुर कार्यसमितिको बैठकले प्रगतिशिल कर्मचारी संगठनबीचको तत्काल एकता सम्पन्न गर्न आह्वान गर्दै भिन्न भएर चुनाबमा जाने कुराले राम्रो सन्देश प्रबाह नगर्ने ठहर गरेको छ । आम कर्मचारीको भाबना अनुसार दुबै संगठन एक भई चुनाबमा जानुपर्ने निश्कर्ष निकाल्दै भेलाले जिल्ला एकता कार्यदल पनि गठन गरेको छ ।

कर्मचारीको हकहित र आगामी ट्रेड युनियन निर्वाचनमा प्रगतिशील पक्षधरलाई जिताउन संगठन जिल्लाहरुमा सक्रिय भएको संगठनका प्रदेश १ अध्यक्ष रुद्रप्रसाद सुबेदीले जानकारी दिनुभयो । प्रदेशका सबै जिल्लामा निर्वाचन अभियान तीब्र पार्ने तयारी भएको पनि उहाँको भनाइ छ ।

शनिबार, १७ असोज, २०७७, साँझको ०५:४६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर